राष्ट्रिय एकता र अखण्डताप्रति प्रतिबद्ध रहेको उपप्रधानमन्त्री महतोको स्पष्टोक्ति



काठमाडौं।आफ्नै बिबादास्पद अभिव्यक्तिका कारण चौतर्फी आलोचनाको सिकार बनेका शहरी बिकास मन्त्रीसमेत रहेका उपप्रधानमन्त्री राजेन्द्र महतोले आफ्नो अभिव्यक्ति सच्च्याएका छन् ।

शनिबार मध्यराती एक बिज्ञप्ति जारी गरी उपप्रधानमन्त्री राजेन्द्र महतोले आफू राष्ट्रिय एकता, अखण्डताप्रति प्रतिबद्ध रहेको जनाएका छन्।शुक्रबार उपप्रधानमन्त्री तथा सहरी विकास मन्त्रालयको पदभार ग्रहणका क्रममा उनले नेपाललाई बहुल राष्ट्रिय राज्य बनाउन लागिपर्ने अभिव्यक्ति दिएका थिए।

उपप्रधानमन्त्री महतोले राष्ट्रिय एकता, अखण्डता र राष्ट्रिय एकताप्रति आफू पूर्ण प्रतिबद्ध रहेको उल्लेख गर्दै यसबारेमा कसैलाई पनि भ्रम नहोस् भनी स्पष्ट पारेका छन् ।

‘मैले संविधानको धारा ३ मा उल्लेख भएबमोजिम बहुजातीय, बहुभाषिक, बहुधार्मिक, बहुसांस्कृतिक विशेषतायुक्त, भौगोलिक विविधतामा रहेका समान आकांक्षा र नेपालको राष्ट्रिय स्वतन्त्रता, भौगोलिक अखण्डता, राष्ट्रिय हित तथा समृद्धिप्रति आस्थावान रही एकताको सूत्रमा आबद्ध सबै नेपाली जनता समष्टिमा राष्ट्र हो भन्ने विषयलाई आत्मसात गर्दै यो राज्य सबै जातजाति, वर्ग, समुदाय, धर्म, लिंगको साझा राष्ट्र हो भन्ने आशय व्यक्त गरेको हुँ’, महतोद्वारा जारीे विज्ञप्तिमा उल्लेख छ ।

प्रतिक्रिया दिनुहोस्