उपप्रधानमन्त्री महतोको अभिव्यक्तिप्रति एमालेको नेपाल पक्षीय १८ जनसंगठनको आपत्ति

काठमाडौं।बहुल राष्ट्रिय राज्यको स्थापनाको लागि राष्ट्रिय मुक्ति आन्दोलनको तयारी’मा रहेको भन्ने उप प्रधानमन्त्री राजेन्द्र महतोको अभिव्यक्तिप्रति नेकपा (एमाले) को झलनाथ खनाल- माधवकुमार नेपालपक्षका १८ जनसंगठनले आपत्ति जनाएका छन् ।

शनिबार संयुक्त विज्ञप्ति जारी गर्दै ती संगठनले मन्त्री महतोको अभिव्यक्तिप्रति गम्भीर ध्यानाकर्षण भएको जनाउँदै संविधानविरोधी उक्त अभिव्यक्ति फिर्ता लिएर उनले तत्काल माफी माग्नु पर्ने बताएका छन् ।
‘नेपाल सरकारका उपप्रधान तथा सहरी विकासमन्त्री राजेन्द्र महतोले २१ जेठ २०७८ मा नेपालको संविधानअनुसार शपथ ग्रहणपछि पदभार ग्रहण गर्ने क्रममा दिनुभएको संविधान विरोधी अभिव्यक्तिप्रति हाम्रो गम्भीर ध्यानाकर्षण भएको छ। जनता समाजवादी पार्टी (जसपा)का वरिष्ठ नेतासमेत रहनुभएका उपप्रधानमन्त्री महतोले पदभार ग्रहण गर्ने क्रममा ‘बहुल राष्ट्रिय राज्यको स्थापनाको लागि राष्ट्रिय मुक्ति आन्दोलनको तयारी’ गर्ने जानकारी दिनुभएको छ,’ विज्ञप्तिमा उल्लेख छ।
उक्त अभिव्यक्ति नेपालको स्वतन्त्रता, सार्वभौमिकता, भौगोलिक अखण्डता, राष्ट्रिय एकता, स्वाधीनता र स्वाभिमानको विरुद्ध भएको ती संगठनको भनाइ छ। ‘यो अभिव्यक्ति हाम्रो संविधानको प्रस्तावना र संविधानको धारा-३ विपरीत छ। संविधानको मर्मविपरीत कुनै पनि काम नगर्ने शपथ खाएर संविधानको कार्यान्वयन गर्ने निकायमा पुगेको जिम्मेवार व्यक्तिबाट यस प्रकारको संविधानविरोधी र अराजक अभिव्यक्ति आउनु असाध्यै बिडम्बनापूर्ण छ।
तसर्थ, संविधानको मूल मर्मविरुद्धमा आएको यस अभिव्यक्तिको घोर भर्त्सना गर्दै उपप्रधानमन्त्री महतोलाई तत्काल आफ्नो अभिव्यक्ति फिर्ता लिएर नेपाली जनतासँग माफी माग्न आग्रह गर्दछौं,’ विज्ञप्तिमा भनिएको छ।
यसबीच,महतोको अभिव्यक्तिको विरोधमा उत्रिएका नेकपा (एमाले) को झलनाथ खनाल- माधवकुमार नेपालपक्षका विद्यार्थी नेताहरूलाई प्रहरी पक्राउ परेको छ।
उपप्रधान तथा शहरी विकासमन्त्री नियुक्तलगत्तै दिएको अभिव्यक्तिको विरोधमा उत्रिएका अनेराश्ववीयुका अध्यक्ष र महासचिव सहित ११ जना विद्यार्थी नेतालाई प्रहरीले काठमाडौंको बानेश्वरबाट पक्राउ गरेको हो।
पक्राउ परेका सबै ११ जनालाई महेन्द्र पुलिस क्लबमा राखिएको छ। उनीहरूलाई प्रहरीले कुटपीटसमेत गरेको थियो। अध्यक्ष सुदेश पराजुली र महासचिव आरती लामासहित महतोको अभिव्यक्तिमाथि विरोध गर्दै गर्दा प्रहरीले उनीहरूलाई पक्राउ गरेको हो।

