लुम्बिनी प्रदेशमा राष्ट्रियसभा सदस्य उपनिर्बाचन आज, पाण्डे र खड्का प्रतिस्पर्धामा

काठमाडौँ । लुम्बिनी प्रदेश अन्तर्गतको राष्ट्रियसभा सदस्य उपनिर्वाचन आज बिहान ९ बजे सुरु हुंदैछ।

दाङ घोराहीस्थित कर्मचारी मिलन केन्द्रमा दिउँसो ३ बजेसम्म मतदान हुने यो उपनिर्बाचनका लागि काँग्रेस, माओवादी केन्द्र, जनता समाजवादी पार्टी र राष्ट्रिय जनमोर्चाको विपक्षी गठबन्धनका तर्फबाट दृगनारायण पाण्डे र एमालेका तर्फबाट चन्द्रबहादुर खड्का उम्मेदवार रहेका छन् ।
यस निर्वाचनमा कुल मतदाता ३ सय पुगेका छन्। जसमा प्रदेश सांसदको संख्या ८३ छ भने स्थानीय तहका प्रमुख–उपप्रमुख र अध्यक्ष–उपाध्यक्ष गरी २१७ मतदाता रहेका छन् ।
सर्बोच्चको अल्पकालीन आदेशका कारण जसपाका चार प्रदेश सांसद सन्तोष कुमार पाण्डे, विजयबहादुर यादव, सुमन शर्मा रायमाझी र कल्पना पाण्डेले मतदान गर्न पाउने भएपछि प्रदेश सांसदको संख्या ८३ पुगेको हो।
राष्ट्रिय सभा सदस्य उपनिर्वाचनमा कोभिड पोजेटिभका लागि छुट्टै मतदानस्थल बनाइएको छ। निर्वाचनमा मतदान गर्ने मतदाताहरुले अनिवार्य पिसिआर परीक्षण रिपोर्ट ल्याउनुपर्ने आयोगले जनाएको छ ।

