१४ औं गणतन्त्र दिवस : जनताका आधारभूत अधिकारको प्रभावकारी कार्यान्वयनमा राष्ट्रपति भण्डारीको जोड



काठमाडौं।राष्ट्रपति विद्यादेवी भण्डारीले सरकारले विभिन्न सहर एवं जिल्लामा जारी गरेको निषेधाज्ञाका नियमको पालना गर्दै जनताको विजय भएको पर्वका रूपमा गणतन्त्र दिवस मनाउन आह्वान गरेकी छन् ।

चौधौँ गणतन्त्र दिवसका अवसरमा शनिबार शुभकामना सन्देश जारी गर्दै राष्ट्रपति भण्डारीले सो आव्हान गरेकी हुन।उनले संविधानले परिकल्पना गरेको समाजवादोन्मुख राष्ट्रिय अर्थतन्त्रको स्थापनाका लागि गणतन्त्र दिवसले सबैलाई थप उत्प्रेरणा प्रदान गर्ने विश्वास व्यक्त गरेकी छन् ।

नेपालमा सङ्घीय लोकतान्त्रिक गणतन्त्र घोषणा भएको ऐतिहासिक दिनको सम्झनालाई चिरस्थायी बनाउन प्रत्येक वर्ष जेठ १५ गतेलाई गणतन्त्र दिवसको रूपमा मनाउने गरिएको स्मरण गर्दै राष्ट्रपति भण्डारीले संविधानले मौलिक हकका रूपमा जनताका आधारभूत अधिकारलाई सुनिश्चित गरिसकेका सन्दर्भमा तिनको प्रभावकारी कार्यान्वयन गर्नुपर्नेमा जोड दिएकी छन् ।

व्यक्तिको जन्मका आधारमा श्रेष्ठता तय गरिने प्रणालीलाई नागरिकको सहभागिताद्वारा आमूल परिवर्तन गरी हरेक नागरिक समान हुने प्रणालीको स्थापना हुनु हाम्रो गणतन्त्रको प्रमुख विशेषता रहेको बताउंदै जारी सन्देशमा भनिएको छ, ‘गणतन्त्र दिवसले मुलुकको भौगोलिक अखण्डता, सार्वभौमिकता, स्वाधीनता र राष्ट्रिय एकतालाई अझ सुदृढ गर्दै न्यायमा आधारित आर्थिक समृद्धि हासिल गरी सभ्य¸ सुसंस्कृत तथा समुन्नत समाज निर्माणको बाटोमा अघि बढ्न हामी सबैमा उत्साह प्रदान गर्ने अपेक्षा गरेको छु ।’

प्रतिक्रिया दिनुहोस्