बुधबार यता निरन्तर घट्दै कोरोना संक्रमण दर

काठमाडौं।गत बुधबारदेखि कोरोना संक्रमितको संख्या निरन्तर घट्दो क्रममा रहेको संक्रमितहरुको तथ्यांकले देखाएको छ । गत मंगलबार नेपालमा हालसम्मकै धेरै ९ हजार ३१७ जना संक्रमित भेटिएका थिए, त्यसयता निरन्तर संक्रमितको संख्या घट्दै गएको छ ।

गत बुधबार संक्रमितको संख्या अघिल्लो दिनको तुलनामा ७९ जनाले घटेर ९ हजार २३८ मा झर्यो । त्यस्तै बिहिबार बुधबारको तुलनामा ३९६ जना कम भएर ८ हजार ८४२ मा झर्यो । त्यस्तै शुक्रबार संक्रमितको संख्या ८ हजार ४६७ मा झर्यो । शनिबार पनि अघिल्लो दिनको तुलनामा कोरोना संक्रमित संख्या घटेर ८ हजार ४६ मा झर्यो । त्यस्तै आइतबार (आज) संक्रमितको संख्या सनिबारको तुलनामा एकै दिनमा ६७८ जनाले घटेर ७ हजार ३६८ मा झरेको छ ।
नेपालका कोरोना संक्रमणको अवस्था एकाएक बढेपछि अधिकांश जिल्लामा निषेधाज्ञा जारी गरिएको छ । हाल देशभर १ लाख १० हजार २६३ जना सक्रिय संक्रमित रहेका छन् । कोरोना भईरसको इन्डियन भेरिएन्ट आएसंगै नेपालमा संक्रमणको कारण मृत्यु हुनेको संख्या बढेको छ । पछिल्लो समय कयौं बिरामीले अक्सिजन तथा समयमै उपचार नपाएको कारण मृत्यु भईरहेको गुनाशो आईरहेको बेला हालै चीन र खाडीका नेपालीहरुले गरि १८ हजार ५०० भन्दा बढी अक्सिजन सिलिन्डरहरु नेपाल पठाएका छन् ।
नेपालमा हालसम्म कोरोना संक्रमण हुनेको कुल संख्या ४ लाख ५५ हजार २० पुगेको छ । आजसम्म ३ लाख ३९ हजार ७५६ जना निको भएका छन् । हालसम्म कोरोनाको कारण ५ हजार एक जनाले ज्यान गुमाएका छन् । यो मृत्युदर कुल संक्रमितको १.१ प्रतिशत हो ।

