साहित्यकार चेतन कार्कीको निधन



काठमाडौं । कवि, उपन्यासकार एवं चलचित्रकर्मी चेतन कार्कीको आज बिहान निधन भएको छ। स्वास्थ्यमा समस्या भएर चार दिनअघि छाउनीस्थित सैनिक अस्पतालमा भर्ना भएका कार्कीको ८४ वर्षका उमेरमा मृत्यु भएको हो।

साहित्यकार मुरारी सिग्देलले भने, ‘केही दिनअघि उनलाई गाह्रो भएर कोरोना परीक्षण गराउँदा नतिजा पोजेटिभ आएको थियो तर चार दिनअघि उहाँको मुटुमा समस्या भएर अस्पताल लाँदा आइतबार स्वर्गारोहण भयो।’

विसं १९९५ कात्तिक २२ गते स्याङ्जा आरुखर्कमा जन्मिएका कार्कीले नेपाली, हिन्दी तथा अङ्ग्रेजी र उर्दू भाषामा थुप्रै कृति प्रकाशन गरेका थिए। उनका ‘आत्मा बेचेको छैन’, ‘हनिमुन’ ‘ढलेको गिलास’ र ‘कल्पना टुट चुकी है’, लगायत उपन्यास, ‘जुन निदाउन थाल्यो’ र ‘मायाप्रीतिको चोखो कथा’ गीतसङ्ग्रह, ‘हत्केलाले सधैँ सूर्य छेकिँदैन’, मुक्तकसङ्ग्रह, ‘हो देश मेरो पनि गजलसङ्ग्रहलगायत कृति प्रकाशित छन्।

कार्कीले ‘विश्वास’, ‘भुमरी’, ‘पहिलो प्रेम’ चलचित्र निर्देशन गर्नुभएको छ। कार्कीका चर्चित गीतमा ‘तीजको रहर आयो बरी लै’, ‘कान्छी हे कान्छी’, ‘बोलाऊँ भने लेक स्वर पुग्दैन, बोलाइरहन हुँदैन’, ‘बुझ्नै सकिनौ आँखाको भाका मेरो’, ‘बहिनीको दया छ भने रोधी घर दाइ नाच्यो नभन’ आदि छन्।

प्रतिक्रिया दिनुहोस्