अक्सिजन र औषधिको आपूर्ति सहज बनाउन सरकारलाई सर्बोच्चको आदेश



काठमाडौं, २८ वैशाख । कोरोना भाइरस संक्रमणको उपचारका लागि थप साधनयुक्त अस्पताल सञ्चालनमा ल्याउन सर्वाेच्च अदालतले सरकारलाई अन्तरिम आदेश दिएको छ ।

अधिवक्ता शैलेन्द्रकुमार अम्बेडकरले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयविरुद्ध दायर गरेको रिटमाथि सुनुवाइ गर्दै न्यायाधीश बमकुमार श्रेष्ठको एकल इजलासले औषधि र अक्सिजनको आपूर्ति सहज बनाउन आदेश दिएको हो ।

कोरोना संक्रमितको उपचारका लागि आवश्यक औषधि र अक्सिजनको आपूर्ति सहज बनाउन, थप साधनयुक्त अस्पताल सञ्चालनमा ल्याउन र बिरामीको चाप अनुसार अस्पतालमा जनशक्ति आपूर्ति गर्न सर्वाेच्चले आदेश दिएको छ ।

नागरिकको जीवनसँग प्रत्यक्ष सम्बन्ध र सरोकार राख्ने हुनाले अक्सिजन, औषधि, अस्पताल र जनशक्ति व्यवस्थापनका लागि सरोकारवालाको प्रतिनिधित्व हुने गरी एउटा कार्यसमिति बनाउन आदेश दिइएको छ ।

प्रतिक्रिया दिनुहोस्