तेस्रो त्रैमासमा राष्ट्रिय बाणिज्य बैंकको ३ अर्ब २७ करोड रुपैयाँ मुनाफा

काठमाडौं । राष्ट्रिय वाणिज्य बैंक लिमिटेडले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ। विवरण अनुसार गत आर्थिक वर्षको तुलनामा बैंकको मुनाफा सामान्य बढेको छ।

चालु आर्थिक वर्षको चैत मसान्तसम्ममा बैंकले ३ अर्ब २७ करोड रुपैयाँ मुनाफा आर्जन गरेको छ। जुन गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ७.७० प्रतिशत बढी हो।
समीक्षा अवधिमा बैंकको ब्याज आम्दानी भने घटेको छ । समीक्षा अवधिमा बैंकको ब्याज आम्दानी ८.८९ प्रतिशत घटेको हो । त्यसैगरी, बैंकको कुल सञ्चालन आम्दानी ५.५० प्रतिशत घटेको छ। यद्यपि बैंकको सञ्चालन मुनाफा भने ६.१५ प्रतिशत बढेको छ।
बैंकको कर्मचारी खर्च घटेपछि सञ्चालन मुनाफा बढ्न टेवा पुगेको हो। सो अवधिसम्ममा बैंकको वितरण योग्य मुनाफा ३ अर्ब ४ करोड ३३ लाख रुपैयाँ रहेको छ।
गत आर्थिक वर्षको अन्त्यको तुलनामा चालु आर्थिक वर्षको चैत मसान्तसम्ममा बैंकको चुक्ता पूँजी २ प्रतिशत बढेको छ भने जगेडा कोष २५.७१ प्रतिशत बढेको छ। त्यसैगरी, समीक्षा अवधिमा बैंकको निक्षेप ४.२५ प्रतिशत बढेको छ भने कर्जा लगानी ११.०९ प्रतिशत बढेको छ।
कर्जा लगानी बढेपनि बैंकको निष्क्रिय कर्जा भने घटेको छ। गत आर्थिक वर्षको चैत मसान्तसम्ममा ४.६४ प्रतिशत रहेको बैंकको निष्क्रिय कर्जा चालु आर्थिक वर्षको सोही अवधिसम्ममा घटेर ३.६२ प्रतिशतमा सीमित भएको छ।

