राष्ट्रिय सहकारी बैंकद्वारा संरक्षित पूँजी फिर्ता कोष बाँडफाँड, १२०४६ संघसंस्थाहरू लाभान्वित

ललितपुर / राष्ट्रिय सहकारी बैंक लिमिटेडले आर्थिक वर्ष २०७६/०७७ को संरक्षित पूँजी फिर्ता कोषबाट सदस्यहरूले पाउने रकमको बाँडफाँड कार्य सम्पन्न गरेको छ ।

सहकारी बैंकले आफ्ना सदस्य सहकारी संघसंस्थाहरूलाई सहकारी ऐन २०७४ तथा नियमावली २०७५ को प्रावधान अनुरूप उक्त रकमको बाँडफाँड गरेको हो ।
बैंकले संरक्षित पूँजी फिर्ता कोषबाट प्राप्त हुने रकम यस सहकारी बैंकमा नियमित कारोबार गर्ने संघसंस्थाको खातामा जम्मा गर्ने व्यवस्था मिलाएको जनाएको छ ।
सदस्य संघसस्थाले जम्मा गरेको बचत रकमको लागि ४० प्रतिशत र कर्जामा तिरेको ब्याजको लागि ६० प्रतिशत भारको आधारमा संरक्षित पूँजी फिर्ता कोषको रकम बाँडफाँड गरेको हो ।
बैंकको बचत र कर्जा कारोबार गर्ने १२ हजार ४६ संघसंस्थाहरू आ.व. २०७६/०७७ को संरक्षित पूँजी फिर्ता कोषबाट लाभान्वित भएका छन् ।
बचत र कर्जामा उच्च कारोबार गरी योगदान गरे वापत सबैभन्दा बढी रकम फिर्ता पाउने सदस्यले बचततर्फ रु ४३ लाख चार हजारसम्म र कर्जातर्फ रु. १२ लाख १८ हजारसम्म प्राप्त गर्न सफल भएका छन् ।
रु.५० हजारभन्दा बढी संरक्षित पूँजी फिर्ता कोष रकम प्राप्त गर्ने सहकारी संघसंस्थाहरू ५२२ रहेका छन् । यसअघि बैंकले आफ्ना सदस्य सहकारी संघसंस्थाहरूलाई आ.व. २०७६/०७७को लागि बैंकको १७ औं साधारण सभाबाट पारित गरि १५ प्रतिशत लाभांश वितरण गरिसकेको छ ।
बैंकले नियमित बचत तथा कर्जाको कारोबार गर्ने र संरक्षित पूँजी फिर्ता कोषबाट रकम पाउने सम्पूर्ण सहकारी संघसंस्थाहरूलाई बधाई ज्ञापन गर्दै भविष्यमासमेत सहकारी बैंकमा कारोबार गरी संरक्षित पूँजी फिर्ता कोषबाट लाभ लिन अनुरोध समेत गरेको छ ।

