संगीतकर्मी स्वर्गीय श्रीमान थुलुङको स्मृतिमा तीन लाखको अक्षयकोष स्थापना

खगिन्द्रराज बास्तोला
सोलुखुम्बु । सोलुखुम्बुको नेचासल्यानमा जन्मिएर पोखरालाई कर्मथलो बनाएका गायक तथा संगीतकार स्वर्गीय श्रीमान थुलुङको स्मृतिमा तीन लाख रुपैयाँको अक्षयकोष स्थापनाको घोषणा गरिएको छ ।

थुलुङको दोस्रो वार्षिक स्मृति दिवसका अवसरमा शुक्रबार किराँत सेवा समाज, कास्कीले आयोजना गरेको कार्यक्रममा गीत, संगीत क्षेत्रमा योगदान दिने स्रष्टालाई सम्मान गर्ने उद्देश्यले सो अक्षयकोष स्थापना गरिएको जानकारी गराइएको छ। किरात सेवा समाज, कास्कीको संरक्षकत्व रहने गरी स्थापना गरिएको अक्षयकोषको ब्याजबाट प्रत्येक वर्ष थुलुङको स्मृति दिवसका अवसरमा श्रष्टाहरुलाई सम्मानित गरिने अध्यक्ष लोकेन्द्र चाम्लिङ राईले जानकारी दिए।अक्षयकोषको संरक्षकमा संगीतकार थुलुङकी धर्मपत्नी विमला राई संरक्षक, डीबी राई संयोजक र किरात सेवा समाज, कास्कीका अध्यक्ष वा अध्यक्षले तोकेको प्रतिनिधि सदस्य रहने व्यवस्था गरिएको छ ।
कार्यक्रममा पोखरा प्रज्ञा प्रतिष्ठान, कास्कीका कुलपति पद्मराज ढकाल,
किरात सेवा समाज, कास्कीका संरक्षक डा. लक्ष्मीप्रसाद राई, चोमोलोङ्मा प्रतिष्ठान नेपालका अध्यक्ष जसिहाङ राई, सचिव सुरेश जमरकट्टेल, किरात सेवा समाज, कास्कीका वरिष्ठ सल्लाहकार गणेशबहादुर देवान, पूर्वाञ्चल सेवा समाज, कास्कीका अध्यक्ष गोपाल खड्का, संगीतकार नवराज बराल, स्मृतिमा श्रीमान थुलुङ स्मृति ग्रन्थका सम्पादक अनुराग अधिकारी र पूर्ण लामा,किरात सेवा समाज, कास्कीका उपाध्यक्ष मनकुमार सुनुवार र सचिव नवीन राई लगायतका बक्ताहरुले स्वर्गीय थुलुङले नेपाली संगीत क्षेत्रमा पुर्याएको योगदानबारे चर्चा गरेका थिए ।
कार्यक्रममा गायक स्वर्गीय थुलुङका छोरीद्वय गायिका स्मृति राई र संगीता राईले आफ्नो गायन प्रस्तुती राखेका थिए ।थुलुङको दुई बर्षअघि स्कुटर दुर्घटनामा परि पोखरामा निधन भएको थियो।

