महाकुलुङ : रेडपाण्डाको छालासहित तीन जना पक्राउ

सोलुखुम्बु,१३ चैत। रेड पाण्डाको छाला सहित सोलुखुम्बुमा तीन जना पक्राउ परेका छन् । पक्राउ पर्नेहरुमा महाकुलुङ गाउँपालिका–२ का जगत बहादुर राई, वडा नम्बर–३ का कविर शंकर राई र मितुरधन राई रहेको प्रहरीले जनाएको छ।

सात वटा रेड पाण्डाको छाला र पाँच वटा पासोसहित उनीहरुलाई सोमबार साँझ प्रहरी निरीक्षक मन्दिप चौहानको टोलीले पक्राउ गरेको हो।
महाकुलुङ गाउँपालिकावाट पक्राउ परेका तीनै जनालाई प्रहरीले बुधबार पत्रकार सम्मेलन गरेर सार्वजनिक गरेको छ ।
मकालु बरुण राष्ट्रिय निकुञ्ज मध्यवर्ती क्षेत्र भित्र गैह्र कानुनी रुपमा वन्यजन्तुको चोरी शिकारी गरि मार्ने, आखेटोपहार लुकाई छिपाई राखी खरिद बिक्री गर्ने तथा ओसार पसार गर्ने गरेको सूचनाको आधारमा पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुका प्रहरी प्रमुख प्रहरी नायव उपरीक्षक कवित कटुवालले जानकारी दिए। पक्राउ परेका तीनै जनालाई कानुनी कार्वाहीका लागि राष्ट्रिय निकुञ्ज पठाईनेछ ।
राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐन २०२९ को दफा २६ को १ अनुसार निजहरुलाई रु।५ लाख देखि रु. १० लाखसम्म जरिवाना वा पाँच वर्ष देखि १५ वर्ष सम्म कैद सजाय या दुवै हुन सक्ने कानुनी प्रावधान छ ।

