नेपालीहरु नराम्ररी हेपिन थालेको प्रचण्डको भनाइ



काठमाडौं,११ चैत ।नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नेपालीहरुको आत्मनिर्णयको अधिकार धरापमा पर्दै गएको बताएका छन्।

नेपाल राष्ट्रिय उद्योग व्यापार संगठनको प्रशिक्षण भेलालाई बुधबार काठमाडौंमा सम्बोधन गर्दै प्रचण्डले पछिल्लो समय नेपालीहरुलाई हेप्ने र आत्मनिर्णयको अधिकार खोस्ने प्रयास भइरहेको बताएका हुन्।

दाहालले केही समयअघि नेपालीहरु आत्मनिर्णय गर्न सक्षम रहेको महसुस गरेको अवस्थामा अहिले विस्तारै उक्त अधिकार खोसिँदै गएको पनि दाबी गरेका छन्।

‘शान्ति सम्झौतामा हस्ताक्षर गर्दै गर्दा, संविधानसभाबाट गणतन्त्र र संविधानको घोषणा गर्दा, कम्युनिस्ट पार्टीको एकताको गठबन्धन गर्दा र चुनावको नेतृत्वको गर्दै गर्दा आत्मगौरव हुन्थ्यो’, उनले भने, ‘त्यसबेला हामीलाई कसैको दबाब, हस्तक्षेप डर, धाक, धम्कीबिना आफैँले निर्णय गरेका थियौँ। हामी आफैँले निर्णय गरेर परिणाम निकाल्न सक्नु नेपालीको आत्मगौरवको विषय थियो।’

तर अहिले नेपालीको अधिकार खोसिने खतरा आएको उनले बताए। ‘तर अहिले नेपालीको अधिकार खोसिने अवस्था आएको छ। फेरि एकचोटी हामी निरीह हुन थालेका छौं, हामी नेपाली फेरि नराम्रोसँग हेपिन थालेका छौं। नेपाल, नेपालीको भविष्य र आत्मनिर्णयको अधिकार धरापमा पर्दै गएको छ।’

प्रतिक्रिया दिनुहोस्