अन्तर क्लव फुटवल प्रतियोगिताको उपाधि युवा जागरणलाई
खोटाङ। दोश्रो जिल्ला अन्तर क्लव पुरुष फुटवल प्रतियोगिताको उपाधि युवा जागरण स्पोर्टस क्लव दिक्तेलले उचालेको छ । खोटाङ फुटवल एकेडेमी(केएफए)ले दिक्तेलस्थित माटिकोरे खेलमैदानमा आयोजना गरेको प्रतियोगिताको फाईनल खेलमा बाहुनीडाँडा फुटवल क्लवलाई पराजित गर्दै युवा जागरणले उपाधि उचालेको हो ।
सोमबार दिउँसो बाहुनीडाँडा र युवा जागरणविच भएको फाईनल खेलमा युवा जागरणले पहिलो हाफमा १ गोल गरेर प्रतियोगिताको उपाधि उचालेको आयोजकले जनाएको छ । युवा जागरणका खेलाडी डिगेन राईले गोल गरेका थिए । बाहुनीडाँडा फुटवल क्लवले दोश्रोमा चित्त बुझाएको छ ।
प्रतियोगिताका प्रथम टिम युवा जागरण स्पोर्टस क्लवले ८८ हजार ८८८ र दोश्रो टिम बाहुनीडाँडा फुटवल क्लवले ४४ हजार ४४४ नगदका साथमा ट्रफि, मेडल र प्रमाणपत्र प्राप्त गरेका छन् । सेमिफाइनलिस्ट खोटाङ फुटवल एकेडेमी (केएफए) र नेर्पा स्पोर्टस क्लवले प्रति टिम २२ हजार २२२ नगदका साथमा ट्रफि, मेडल र प्रमाणपत्र पाएका छन् ।उत्कृष्ट गोलरक्षक युवा जागरण स्पोर्टस क्लवका नविन पोखरेल, डिफेण्डर बाहुनीडाँडा फुटवल क्लवका शम्भु माझी, मिड फिल्डर नेर्पा स्पोर्टस क्लवका सन्तोक राई, उत्कृष्ट कोच युवा जागरण स्पोर्टस क्लवका राजु आचार्य भएका छन् । उनीहरुले जनही पाँच हजार नगद ट्रफि, मेडल र प्रमाणपत्र प्रदान प्राप्त गरे ।
युवा जागरण स्पोर्टस क्लवका आयन राई सर्वोत्कृष्ट खेलाडी घोषित भएका छन् । उनले सात हजार नगदका साथमा ट्रफि, मेडल, प्रमाणपत्र हात पारे विजयी टिम र विधागत पुरस्कार एसियन थाइफुड्का दिक्तेल ईन्चार्ज नवराज श्रेष्ठ, खोटाङ वाणिज्य संघका अध्यक्ष उपिन कुमार राई, हिमाली क्लव दिक्तेलका अध्यक्ष खुसनारायण सैंजु, रवि राई, गोपाल श्रेष्ठ लगायतले वितरण गरेका थिए ।
प्रतियोगिताको पहिलो पुरस्कार एसियन थाइफुड् नुडल्स, दोश्रो पुरस्कार खोटाङ उधोग वाणिज्य संघ र हिमाली क्लव दिक्तेल तथा सेमिफाइनलिस्ट एक टिमको पुरस्कार नेपाली सेनावाट अवकासप्राप्त दिक्तेलका जमदार गोपाल श्रेष्ठले प्रायोजन गरेका थिए ।
विधागत पुरस्कार खोटाङका कोकाकोला डिष्ट्रीव्युटर टेक बहादुर मुग्राती तथा म्यान अफ द म्याच पुरस्कार गौरी नुडल्सका प्रोपाईटर अमृत वुढाथोकीले प्रायोजन गरिदिएको खोटाङ फुटवल एकेडेमीका अध्यक्ष नुरकाजी सैजुले बताए ।
‘स्थानीय खेलाडीको विकास र पहिचान खोटाङ फुटवल एकेडेमीको अभियान’ भन्ने नाराका साथमा ४ चैतवाट आयोजना गरिएको प्रतियोगितामा जिल्लाका १३ क्लवले सहभागिता जनाएको थियो । प्रतियोगिताको फाइनल खेल अघि पत्रकार र केएफए भेट्रानविच भएको मैत्रीपूर्ण फुटवल प्रतियोगिता केएफए भेट्रानले जितेको छ । पेनाल्टी सुटआउटमा केएफए भेट्रानले पत्रकारलाई पराजित गरेको हो ।
प्रतियोगिताको उद्घाटन अखिल नेपाल फुटवल संघ (एन्फा) अध्यक्ष कर्माछिरीङ शेर्पाले गरेका थिए । खेलकुदको अभियान खोटाङको पहिचान भन्ने नाराका साथमा २०७३ सालमा स्थापना भएको एकेडेमीले गतवर्षदेखी जिल्ला अन्तर क्लव पुरुष फुटवल प्रतियोगिता गराउदै आएको छ । पहिलो संस्करणको प्रथम उपाधि चुमेको आयोजकले दोश्रो संस्करणमा सेमिफाईनलिस्टमा चित्त बुझाउनु परेको छ ।