प्रधानमन्त्रीले दुई तिहाई मतको ब्यबस्थापन गर्न नसकेको पौडेलको आरोप



काठमाडौँ । नेकपाको प्रचण्ड–नेपाल समूहका स्थायी कमिटी सदस्य देवेन्द्र पौडेलले प्रधानमन्त्री केपी शर्मा ओलीको कदमविरूद्ध संयुक्त आन्दोलनको आह्वान गरेका छन् । मंगलबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको विशेष साक्षात्कारलाई सम्बोधन गर्दै नेता पौडेलले उक्त आह्वान गरेका हुन् ।
आफैंले प्राप्त गरेको मतको व्यवस्थापना गर्न नसकेर प्रतिनिधि सभा भंग गर्ने काम गर्ने ओलीको कदम अलोकतान्त्रिक भएको भन्दै संयुक्त आन्दोलन गर्न नेता पौडेलले आह्वान गरेका हुन् । यसबारेमा उनले भने, ‘आफैँले प्राप्त गरेको दुई तिहाइको मत व्यवस्थापन गर्न नसक्ने, अनि आफू अध्यक्ष भएर पनि आफ्नो दल पनि व्यवस्थापन गर्न नसक्ने प्रधानमन्त्री, हुँदाहुँदा अब उहाँले हठात् प्रतिनिधिसभा भंग गर्ने काम गर्नुभयो । र, हठात् निर्वाचनको घोषणा भएको छ । हामी सबैले बुझेकै हौँ । यो घोर निन्दनीय छ । यो अलोकतान्त्रिक कदम हो । असंवैधानिक कदम हो ।’
त्यस्तै, नेता पौडेलले प्रधानमन्त्री ओलीले निर्वाचन नगर्ने दाबी गरेका छन् । प्रधानमन्त्री ओलीले सरकारको अवधि लम्ब्याउने र निरंकुश प्रणाली लागु गर्न  यो कदम चालेको भन्दै भने, ‘हामीले दशकौंदेखि लडेर ल्याएको र प्राप्त गरेको उपलब्धि, संविधान र प्रणालीलाई हाम्रो तर्फबाट संयुक्त आन्दोलनको लागि पहल गरौं । यसको लागि वार्ता गरौं । यो कदमले संकटकालतर्फ लैजान्छ । अब देशलाई संयुक्त आन्दोलनले निकास दिन्छ । अहिले चुनाव भयो भने जितिन्छ कि भन्ने बेला होइन । यो कदमको विरोध गर्ने पक्षहरु एक ठाउँमा सडकमा आएर प्रतिवाद गरौं ।’

प्रतिक्रिया दिनुहोस्