प्रहरी र बिप्लवका कार्यकर्ताबीछ गोली हानाहान

सङ्खुवासभा, १३ पुस।सङ्खुवासभामा प्रहरी र नेत्रविक्रम चन्द नेतृत्व समूहका कार्यकर्ताबीच गोली हानाहान भएको छ । चैनपुर नगरपालिका ४ मैदानेमा आइतबार अपरान्हतिर गोली हानाहान भएको प्रहरीले जनाएको छ।

सङ्खुवासभाका प्रहरी नायब उपरीक्षक (डीएसपी) नवराज मल्लका अनुसार चन्द समूहका जिल्ला इन्चार्ज युवराज राईलगायतका नेता, कार्यकर्ता मैदानेमा रहेको सूचनाका आधारमा पुगेको नेपाल प्रहरी र सशस्त्र प्रहरीको टोलीले घेरा हाल्दा विप्लव समूहका कार्यकर्ता फायरिङ गर्दै भागेका थिए।
मल्लका अनुसार चन्द समूहका कार्यकर्ताले ५/६ राउण्ड गोली चलाएका थिए भने प्रहरीले झण्डै १५ राउण्ड गोली चलाएको थियो ।
दुवै समूहबीच गोली हानाहान भए पनि कुनै क्षति भने भएको छैन । चन्द समूहका कार्यकर्ता भागेको जङ्गल क्षेत्रमा सुरक्षाकर्मी परिचालन गरिएको डीएसपी मल्लले बताउनुभयो । चन्द समूहका कार्यकर्ताको सेल्टर क्षेत्र भनेर चिनिँदै आएको मैदानेमा यसअघि पनि दुई पटक सुरक्षाकर्मी र चन्द समूहबीच भिडन्त भइसकेको छ ।

