नेचामा कृषि तथा औद्योगिक मेला प्रदर्शनीः ४५ कृषक पुरस्कृत

डिल्ली शर्मा
सोलुखुम्बु ,६ पुस । नेपाल कम्युनिष्ट पार्टी(नेकपा)का केन्द्रीय सदस्य हेमकुमार राई ‘सुरविर’ले जिल्लाबाट आफू सांसद निर्वाचित भएयता कृषिलाई प्राथमिकतामा राखेर काम गरिरहेको बताएका छन् । जिल्लाको नेचासल्यान गाउँपालिकामा आइतबार आयोजित कृषि तथा औद्योगिक मेला प्रदर्शनीको उद्घाटन गर्दै संघीय संसद प्रतिनिधिसभाका निवर्तमान सांसद समेत रहेका राईले मुलुकको आर्थिक समृद्धिका लागि कृषि क्षेत्रलाई प्राथमिकतामा राख्नुपर्ने धारणा राखेका थिए । कृषकहरुलाई कृषि पेशातर्फ आकर्षित गर्न नेचा सल्यान गाउँपालिकाले चालेका कदमहरु प्रसंशनीय रहेको भन्दै राईले त्यसबाट लाभ लिन सक्नुपर्ने बताए
गाउँपालिकाद्वारा आयोजित एकदिने सो कृषि तथा औद्योगिक मेला प्रदर्शनीमा १४ प्रकारका १ हजार भन्दा माथि संख्याका कृषि तथा औद्योगिक सामाग्री २९३ कृषकले प्रर्दशन लागि राखिएको थियो । जसमा बेदबाँस, हाते होजियारी, खाँडी कपडा, जरे तथा कन्दमुल, मसला बाली, नगदे बाली, दलहलन बाली, तरकारीबाली, फलफुल , खाद्यान्न बाली, तेहलन बाली, फर्निचर, साँस्कृतिक भेषभुषा, विविधि रहेको थियो ।
प्रदर्शनीको मुल्याङकन कृषि ज्ञान केन्द्र सोलुखुम्बुका प्रमुख दुर्गा तिरुवा, प्रधानमन्त्री कृषि आधुनिकिकरण परियोजना कार्यान्वयन ईकाई ओखलढुंगाका प्रमुख पुर्णा ढुंगाना, घरेलु तथा साना उद्योग कार्यालय सोलुखुम्बुका प्रमुख कपिलमणि दाहाल, नेचासल्यान गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत शलिकराम बस्याल लगायत अन्य कर्मचारीहरुले अवलोकन गरेका थिए । प्रदर्शनीमा सहभागी ४५ जना कृषकलाई सो अवसरमा पुरस्कृत गरिएको थियो । पुरस्कृत हुनेमध्य प्रथमलाई ३ हजार, दोस्रोलाई २ हजार, तेस्रोलाई १५ सय र सान्वनालाई १ हजारको साथमा प्रमाण पत्र वितरण गरिएको तथा सहभागी अन्य कृषकलाई ५ सयका दरले यातायात खर्च प्रदान गरिएको कृषि ज्ञान केन्द्र नेचा सल्यानले जनाएको छ ।
कार्यक्रममा गाउँपालिकाले कृषि क्षेत्रको विकासका लागि चालेका कदम र अवलम्बन गरेका नीतिहरुका बारेमा प्रकाश पार्दै गाउँपालिका अध्यक्ष डुफकुमार बास्तोलाले कृषि तथा औद्योगिक मेला प्रदर्शनीले कषि क्षेत्रको विकासका लागि महत्वपूर्ण भूमिका खेल्ने बताए । पालिकाले अघिल्ला वर्षहरुमा समेत यस किसिमको प्रदर्शनी आयोजना गरेको बास्तोलाको भनाइ थियो ।
प्रदर्शनीमा जिल्लाकै सोलुदुधकुण्ड नगरपालिकाकी उपमेयर कल्पना राई र नेचा सल्यान गाउँपालिकाका अन्य जनप्रतिनिधिहरुको सहभागिता रहेको थियो ।


