जनजागृति मावि मा नयाँ व्यवस्थापन समिति गठन
धादिङ
मंसिर २९
धादिङको थाक्रे गाउँपालिकामा अवस्थित जनजागृति माध्यमिक विद्यालयमा नयाँ व्यवस्थापन समितिको गठन गरिएको छ । करिव ८० प्रतिशत अभिभावकहरुको उपस्थिति रहेको भेलाले गोकर्ण रुपाखेतीको अध्यक्षतामा समिति चयन गरेको हो । रुपाखेती विद्यालयका संस्थापकसमेत हुन् । दोश्रो पटक अध्यक्षमा निर्विरोध भएका रुपाखेतीले विद्यालयमा स्थापना कालदेखि निरन्तर योगदान दिँदै आएका छन् ।
विद्यालय व्यवस्थापन समितिका अन्य सदस्यहरुमा रवि प्रकाश ओझा, पूर्ण बहादुर कार्की, अरुण कुमार लामा, मनु थापा, गंगा लामा तथा पुष्पा लामा रहेको उक्त समितिको सदस्य सचिवको रुपमा रहेका प्रधानाध्यापक लावण प्रसाद फुयलले रहस्यखबरलाई जानकारी दिए ।
प्राविधिक तथा व्यवसायिक शिक्षा सञ्चालित यस विद्यालयमा विद्यमान शिक्षा ऐनबमोजिम जिल्लाका उद्योग वाणिज्य महासंघका दुईजना प्रतिनिधि सदस्य रहने प्रावधानअनुरुप सुरेश थापा र ईश्वर थापालाई आमन्त्रित सदस्यको रुपमा छनोट गरिएको प्रधानाध्यापक फुयलले बताए । यसैगरी समाहित शिक्षा अन्तर्गत दृष्टिविहीन श्रोत कक्षा सञ्चालित विद्यालयमा अपांगता भएका व्यक्तिमध्येबाट एकजना सदस्य छनोट गर्नुपर्ने प्रावधानका आधारमा अपांगताका क्षेत्रबाट स्थानीय उर्मिला राईलाईसमेत आमन्त्रित सदस्यको रुपमा छनोट गरिएको छ ।
कार्यक्रममा थाक्रे गाउँपालिका अध्यक्ष रामकुमार आचार्य, नेकपा थाक्रेका अध्यक्ष कृष्ण प्रसाद पन्त, जिल्ला समन्वय समिति, धादिङका सदस्य उर्मिला रेग्मी लगायत अन्य सामाजिक संघसंस्थाका प्रमुख एवम् प्रतिनिधिहरु, शिक्षाप्रमी तथा वुद्धिजीवीहरुको उल्लेख्य उपस्थिति रहेको थियो ।


