विदेशी वस्तु सेवा किन्न ५०० डलरसम्म बिना पासपोर्ट पाइने



काठमाडौं। किताब किन्न, कुनै सभासम्मेलनमा भाग लिन वा अन्य स्वास्थ्यसँग सम्बन्धित काम गर्ने प्रयोजनका लागि वैधानिक तवरबाटै विदेश पैसा पठाउन पाइने भएको छ। यो सुविधा राष्ट्र बैंकले आम सर्वसाधारणलाई दिन लागेको हो।

गभर्नरका रुपमा महाप्रसाद अधिकारी आएपछि उनले ससाना विदेशी कारोबार गर्न नेपाली नागरिकहरुलाई सहज होस् भन्ने उद्देश्यले केही नीतिगत ब्यवस्था गर्नु पर्ने बताउँदै आएका छन्। उनले पछिल्लो समय सामाजिक सञ्जालमार्फत पनि यो धारणा ब्यक्त गरेका छन्।

‘गभर्नर साबले विभिन्न फोरमहरुमा यसबारेमा आफ्नो धारणा राख्नु भएको छ। त्यसो हुँदा हामीले केही न केही नीतिगत ब्यवस्था गर्नैपर्ने हुन्छ। हामी आन्तरिक रूपमा के कस्तो गर्न सकिन्छ भनेर सरसल्लाह गरिरहेका छौं,’ विदेशी विनियमय ब्यवस्थापन विभागका एक अधिकारीले बिजमाण्डूसँग भने।

उनले ‘गभर्नरस्तरबाट विभागका लागि यस्तो-उस्तो तयारी गर्नू’ भनेर केही पनि निर्देशन भने नआएको प्रष्ट्याएका छन्। अहिले राष्ट्र बैंकले विदेश उड्नु परे टिकट किन्न र खर्चका लागि एक जना वापत १५ सय डलरसम्म बोक्न दिन्छ। जुनसुकै भुक्तानीका लागि पासपोर्ट र सम्बन्धित कागजपत्र आवश्यक पर्छ। अब भने पासपोर्ट नभए पनि ५०० डलर उपलब्ध गराइने तयारी राष्ट्र बैंकको छ।

‘५०० डलरसम्मको कारोबार गर्न दिनु पर्छ भन्ने हो। तर यसको केही सीमाहरु छन्,’ ती अधिकारीले भने, ‘खासगरी कन्ट्रोल मेकानिज्ममा हामी सचेत हुनु पर्ने छ।’ अहिले विदेशी मुद्रा सञ्चित ऐतिहासिकरूपमा उच्च छ। त्यही भएर पनि आम नेपालीलाई विदेशी कारोबार गर्न सहज होस् भनेर गभर्नरले पहल थालेका हुन्।

राष्ट्र बैंकले वाणिज्य बैंकहरुमार्फत यस्तो कारोबार सहजीकरण गर्न खोजेको छ। जस्तो, नेपाली नागरिकले ५०० डलर बराबरको डेबिट कार्ड बैंकबाट लिन्छन्। त्यो कार्डबाट उनीहरुले आफूले लिएको सेवावापतको पैसा भुक्तानी गर्न पाउने छन्।

एउटै मान्छेले धेरै पटक सटही नगरोस् भनेर बैंकमार्फत गर्न खोजिएको हो। कसैले आवश्यक कामका लागि नभइ नेटफ्लिक्स, गेमिङ साइटमा खर्च नगरोस् भनेर उसले केमा खर्च गरिरहेको छ भनेर त्यो पनि हेरिने छ।

केही दिनअघि गभर्नर अधिकारीले वालेटमार्फत पनि विदेशी मुद्राको भुक्तानी दिने ब्यवस्था गर्न सकिने बताएका थिए। राष्ट्र बैंकका अधिकारीहरुका अनुसार, कसैले भुक्तानी मात्र नभइ कमाउने काम गरिरहेको भए उसलाई भुक्तानी सुविधा बढाइ दिइने छ। जस्तो ५०० डलर भुक्तानी सुविधा दिइएको छ भने उसलाई ६/७ सय डलरसम्म भुक्तानी सुविधा दिइने छ।

प्रतिक्रिया दिनुहोस्