गोल्छाले गरे पदभार ग्रहण



शेखर गोल्छाले गरे पदभार ग्रहण, निजी क्षेत्रलाई बलियो बनाउने प्रतिबद्धता 

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष शेखर गोल्छाले पदभार ग्रहण गरेका छन् । महासंघको ५४ औं वार्षिक साधारण सभाले वरिष्ठ उपाध्यक्षसहित तीन उपाध्यक्ष एवं कार्यकारी समिति निर्वाचित गरेपछि यसअघि नै वरिष्ठ उपाध्यक्षमा निर्वाचित गोल्छाले आगामी तीन वर्षका लागि अध्यक्षको पदभार ग्रहण गरेका हुन् ।

गोल्छालाई निर्वतमान अध्यक्ष भवानी राणाले पद तथा गोपनियताको सपथ गराउँदै अध्यक्ष पीन लगाइदिइन् । त्यस लगत्तै अध्यक्ष गोल्छाले नव निर्वाचित वरिष्ठ उपाध्यक्ष चन्द्र प्रसाद ढकाल, उपाध्यक्षहरू अन्जन श्रेष्ठ, दिनेश श्रेष्ठ र रामचन्द्र संघाईसहित नव निर्वाचित सदस्यहरूलाई पद तथा गोपनियता ग्रहण गराएका थिए ।

आजै महासंघ निर्वाचन समितिले नवनिर्वाचित वरिष्ठ उपाध्यक्ष, उपाध्यक्षहरू एवं कार्यसमिति सदस्यलाई प्रमाणपत्र हस्तान्तरण गरेको थियो ।

महासंघका अध्यक्ष शेखर गोल्छाले निवर्तमान अध्यक्ष भवानी राणाको कार्यकाल पुर्ण सफल भएको बताए । कठिन समयमा राणाले निजी क्षेत्रको समस्या समाधान, कोभिड १९ ले गम्भीर समस्या पारेको बेलामा खेलेको भूमिकाले महासंघलाई थप बलियो बनाउन भूमिका खेलेको बताए ।

व्यवसायीक, पारदर्शी ढंगले आफू अगाडि बढ्ने गोल्छाले बताए । चुनावका बेलामा भएको घोचपेचलाई विर्सिएर निजी क्षेत्रको हक हितमा एक भएर महासंघ अगाडि बढ्ने अपेक्षा गरेको उनले बताए । महासंघलाई थप बलियो, पारदर्शी र निष्पक्ष बनाउने आफ्नो प्राथमिकता रहेको बताए । उनले विधान संशोधन आफ्नो प्राथमिकता रहेको पनि बताए ।

निवर्तमान अध्यक्ष भवानी राणाले आफ्नो कार्यकाल सफल बनाउन भुमिका खेल्नेहरू प्रती आभार व्यक्त गरिन् ।

प्रतिक्रिया दिनुहोस्