कोरोनाले सोत्तर भए, राष्ट्रपतिका सन्तानहरु



अमेरिकी राष्ट्रपति तथा हालैको  निर्वाचनमा पराजित डोनाल्ड ट्रम्पसहित परिवारका अधिकांशलाई कोरोना संक्रमण पुष्टि भएको छ । राष्ट्रपति ट्रम्पलाई गत अक्टोबरमा कोरोना लागेको थियो । आफूलाई कोरोना संक्रमणले नछुने बताउँदै आएका ट्रम्पलाई स्वास्थ्यमा समस्या देखिएपछि रातारात राजधानी वासिङ्गटन नजिकैको सैनिक अस्पतालमा भर्ना गरेर उपचार गरिएको हो ।

उनका माहिलो छोरा डोनाल्ड ट्रम्प जुनियरलाई संक्रमण पुष्टि भएपछि गत सोमबारदेखि उनी पनि आइसोलेसनमा बसेका छन् । कुनै लक्षण नदेखिएपनि उनी स्वास्थ्य प्रोटोकलको पालना गरेर छुट्टै बसेको बताइन्छ । माहिलो छोरा नै राष्ट्रपतिको परिवारका सदस्यहरूमध्ये सबैभन्दा पछाडि कोरोना संक्रमण पुष्टि भएका सदस्य हुन् ।

यसअघि उनका कान्छा छोरा ब्यारोन ट्रम्पलाई गत महिना कोरोना संक्रमण भएको थियो । राष्ट्रपतिसँगै प्रथम महिला अर्थात् श्रीमती मेलेनिया ट्रम्पलाई पनि अक्टोबरमा लागेको थियो । उनी ह्वाइट हाउसमै आराम गरेर बसेकी थिइन् ।

यसअघि माहिलो छोराकी प्रेमिका किम्बरली गुलिफोइललाई पनि जुलाईमा संक्रमण पुष्टि भयो । राष्ट्रपतिका विशेष सहयोगी रुडोल्फ डब्लु गिलियानीका छोरा एण्ड्रिउ गिलियानीलाई हालै संक्रमण पुष्टि भएपछि माहिलो छोराको स्वाब परीक्षण गरिएको बताइएको छ । ह्वाइट हाउसका धेरै जना वरिष्ठ कर्मचारीसमेत यसअघि नै संक्रमित भइसकेका छन् । यो हप्तामात्रै दुईजना रिपब्लिकन सांसदमा समेत कोरोना संक्रमण पुष्टि भएको छ ।

प्रतिक्रिया दिनुहोस्