उवा महासंघ चुनाव: ६४ पदकालागि १२७ जनाको उम्मेदवारी



काठमाडौं, मङ्सिर ५ – नेपाल उद्योग वाणिज्य महासंघको वरिष्ठ उपाध्यक्षसहित कार्यसमिति सदस्यका लागि १२७ जनाले उमेदवारी दर्ता गराएका छन् । त्यसमध्ये दुईजना कार्यसमिति सदस्य निर्विरोध चयन भएका छन् ।

महासंघको वरिष्ठ उपाध्यक्ष, वस्तुगत, जिल्ला/नगर तथा एसोसिएटतर्फ एक/एक उपाध्यक्ष, सात प्रदेश, एक संस्थागत समूहसहित ६४ पदका लागि १२७ जनाको उमेदवारी परेको हो ।

उद्योग वाणिज्य महासंघ निर्वाचन समितिले शुक्रबार प्रकाशित गरेको अन्तिम उमेदवारहरुको नामावलीअनुसार केन्द्रीय कार्यसमिति सदस्यमा प्रदेश १ बाट राजेन्द्र राउत र द्विराष्ट्रिय उद्योग वाणिज्य संघबाट केन्द्रीय कार्यसमितिमा सन्दीप अग्रवाल निर्विरोध चयन भएका छन् ।

वरिष्ठ उपाध्यक्षमा चन्द्रप्रसाद ढकाल र किशोर प्रधान, उद्योग वाणिज्य समूहको उपाध्यक्षमा गुणनिधि तिवारी र दिनेश श्रेष्ठ, वस्तुगत समूहको उपाध्यक्षमा उमेशलाल श्रेष्ठ र अञ्जन श्रेष्ठ एवं एसोसिएटतर्फको उपाध्यक्षमा रामचन्द्र संघाई र सौरभ ज्योति छन् । ढकाल र प्रधानले प्यानलसहित उमेदवारी दर्ता गराएका हुन् । ढकाल प्यालनबाट गुणनिधि तिवारी, उमेशलाल श्रेष्ठ र रामचन्द्र संघाई छन् भने प्रधान प्यानलबाट दिनेश श्रेष्ठ, अञ्जन श्रेष्ठ र सौरभ ज्योति छन् ।

जिल्ला/नगरतर्फ १८ केन्द्रीय कार्यसमिति सदस्यका लागि ३८ जनाको उमेदवारी परेको छ । यस्तै वस्तुगततर्फको १४ कार्यसमिति सदस्यका लागि २९ जना र १९ एसोसिएटतर्फको सदस्यका लागि ३३ जनाको उमेदवारी परेको छ । एकजना संस्थागत समूहका लागि तीनजनाको उमेदवारी परेको निर्वाचन समितिले जनाएको छ । प्रदेशतर्फ वाग्मती र लुम्बिनी प्रदेशबाट तीन/तीनजनाको उमेदवारी परेको छ भने प्रदेश २, गण्डकी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशबाट २/२ जनाले केन्द्रीय कार्यसमिति सदस्यका लागि उमेदवारी दिएका छन् ।

प्रतिक्रिया दिनुहोस्