व्यवसायीबीच सेलरोटी बनाउने प्रतिस्पर्धा



काठमाडौं,२६ कार्तिक। तिहारको पूर्वसन्ध्यामा सेलरोटीको मौलिकता र बजारीकरण गर्ने उद्देश्यले आज दक्षिणकालीका व्यवसायीबीच सेलरोटी बनाउने प्रतिस्पर्धा आयोजना गरिएको छ । तिहारमा पकाइने मुख्य परिकार मध्येको सेलरोटी र दक्षिणकाली मन्दिरको धार्मिक पर्यटन प्रवद्र्धन गर्ने मन्दिर क्षेत्रमा रहेका करिब पाँच दर्जन व्यवसायीले प्रतियोगितामा सहभागिता जनाएका थिए ।

ललितपुरको सातदोबाटोस्थित आइएचएम कलेज र आइएम विथ सेफको संयोजन तथा दक्षिणकाली नगरपालिका, पर्यटन बोर्डको संयुक्त सहकार्यमा नेपाली सेफ र विभिन्न संस्थाको संयुक्त आयोजनामा (सेलरोटीको स्वाद) “टेस्ट अफ नेप्लिज फुड–द नेक्स्ट डेस्टिनेशन (सिरिज)” अन्तर्गत पहिलो कार्यक्रम सम्पन्न भएको हो ।

नेपाली मौलिक खानालाई स्थानीय स्तरबाटै चिनाउने र त्यसको बजार प्रवद्र्धन गर्ने उद्देश्यका साथ कर्मा मिडियाको व्यवस्थापनमा भएको उक्त प्रतियोगितामा सहभागीलाई तीन समूहमा विभाजन गरी तयारी, मौलिकता, स्वाद र बजारीकरणको सम्भावनालगायतको मापदण्डलाई आधार बनाएर उत्कृष्ट तीन व्यवसायीको छनौट गरिएको थियो । प्रतियोगितामा मायादिदीको खाजाकी सञ्चालक माया ब्लोन प्रथम, जयकाली खानाका सञ्चालक शारदा तामाङ द्धितीय र बालकृष्ण श्रेष्ठले तृतीय स्थान हासिल गर्न सफल भए । उनीहरुलाई दक्षिणकाली नगरपालिकाका मेयर मोहन बस्नेतले क्रमशः रु १० हजार, सात हजार र पाँच हजार प्रदान गर्नुभयो ।

सो अवसरमा मेयर बस्नेतले नगरपालिकाले देशका उद्योगी व्यवसायीलाई यस क्षेत्रको पर्यटन प्रवद्र्धन र उद्योगमा लगानी गर्न आग्रह गर्नुभयो । होटल एसोसिएसन अफ नेपाल (हान) का उपाध्यक्ष विनायक शाहले कोभिडका कारण प्रभावित बनेको मुलुकको पर्यटन क्षेत्रलाई चलायमान बनाउन यस किसिमका कार्यक्रमले व्यवसायीमा हौसला बढनेछ भन्नुभयो ।

प्रतिक्रिया दिनुहोस्