दशैँको टीकाको साइत बिहान १०ः१९ बजे



काठमाडौं, १५ असोज । यस वर्षको विजयादशमीको टीकाको साइत कार्तिक १० गते विहान १०ः१९ मिनेटमा उत्तम रहेको नेपाल पञ्चाङ्ग निर्णायक समितिले जनाएको छ । विसं २०७७ को विजयादशमीलगायत दशैँका विभिन्न साइत सार्वजनिक गर्दै समितिले सो जानकारी दिएको हो ।

कात्तिक १ गते शनिबारदेखि शुरु हुने बडादशैँको पहिलो दिन विहान ११ः४६ बजे घटस्थापनाको साइत रहेको समितिका अध्यक्ष प्रा.डा. रामचन्द्र गौतमले जानकारी दिए । यस वर्ष घटस्थापनाका दिन चित्रा नक्षत्र परेकाले दोष नाश गर्ने अभिजित् मुहूर्त दिनुपर्दा ११ः४६ बजेको साइत निस्किएको हो । नवरात्र शुरु हुने घटस्थापनाको साइतका लागि लग्न र बेला पनि उपयुक्त दिइएको जनाइएको छ ।

कात्तिक २ गते आइतबार बिहान १०ः५३ बजे पश्चिम फर्केर झण्डा फेर्ने साइत दिइएको छ । कात्तिक ७ गते शुक्रबार फूलपाती छ । कात्तिक ८ गते शनिबार महाअष्टमी पर्व मनाइन्छ । कात्तिक ९ गते आइतबार महानवमी पर्व पनि शक्तिपीठमा पूजा आराधना गरी मनाइन्छ । दशैँको मुख्य दिन कात्तिक १० गते सोमबार विजयादशमी पर्व परेको छ । यस दिन बिहान नौ रात १० दिन पूजा गरिएको स्थलमा देवी विसर्जनका लागि बिहान १०ः११ बजेको साइत शुभ रहेको समितिका अध्यक्ष गौतमले जानकारी दिनुभयो । विजयादशमीमा साइत नै खोजेर टीका लगाउनेका लागि भने बिहान १०ः१९ बजेको साइत उत्तम छ ।

प्रतिक्रिया दिनुहोस्