देउवाविरूद्धको विरोध पत्र काँग्रेस कार्यालयमा दर्ता

काठमाडौं,१२ असोज । पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौलालाई मनाउने आइतबारको प्रयास विफल भएपछि नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलसहितका असन्तुष्ट अन्य नेताहरुले पार्टी सभापति शेरबहादुर देउवा विरुद्ध विरोधपत्र दर्ता गराएका छन् । सभापति देउवाको कार्यशैलीसँग धेरै अगाडिदेखि असन्तुष्ट पौडेलसहित केही पदाधिकारी र सदस्यहरु गरी २५ जनाको हस्तक्षरसहितको विरोधपत्र सोमबार केन्द्रीय कार्यालय सानेपामा दर्ता गरिएको हो ।

मुख्य सचिव कृष्णप्रसाद पौडेलमार्फत बुझाइएको सो विरोधपत्रमा पार्टीलाई विधानसम्मत सञ्चालन गरी १४ औं महाधिवेशन स्वच्छ, निष्पक्ष गर्ने वातावरण सिर्जना गर्नुपर्ने माग गरिएको नेताहरुको भनाई छ ।
वरिष्ठ नेता रामचन्द्र पौडेल, महामन्त्री शशांक कोइराला, कोषाध्यक्ष सीतादेवी यादव, पूर्वमहामन्त्री प्रकाशमान सिंह, केन्द्रीय सदस्य रामशरण महत, अर्जुननरसिंह केसी, बलबहादुर केसी, महेश आचार्य, दिलबहादुर घर्ती, मिनेन्द्र रिजाल, सुजाता कोइराला, दिलेन्द्रप्रसाद बडु, शेखर कोइराला, दीपक गिरी, नवीन्द्रराज जोशी, चन्द्र भण्डारी, कमला पन्त, धनराज गुरूङ, रत्न शेरचन, बद्रीप्रसाद पाण्डे, जीवन परियार, गुरूराज घिमिरे, कल्याणकुमार गुरूङ, रामकृष्ण यादव, हृदयराम थानी, किरण यादव र सरिता प्रसाईंको हस्ताक्षर बुझाइएको हो ।
उनीहरूले असोज १९ गते राखिएको केन्द्रीय समिति बैठकमा आफूहरूका माग न्यायपूर्ण र विधिसम्मत समाधान गर्ने तर्फ सभापतिले गम्भिरता र तदारूकता नदाखाए संघर्षका कार्यक्रम गर्न बाध्य हुने पनि उल्लेख गरेका छन् ।
उनीहरूले विभागदेखि भातृ संस्थाका म्याद थप गरेकोमा पनि खारेजीको माग गरेका छन् । पछिल्लो समय सभापति देउवाले २० भन्दा बढी विभाग गठन गरेका थिए । महाधिवेशन भएको छ महिनाभित्र गठन गर्नुपर्ने विभाग देउवाले नियमित चार वर्षे कार्यकाल सकेर थपिएको समयमा गठन गरेका थिए । महाधिवेशनका मुखमा विभाग गठन गर्दै ‘पद बाँडेर’ महाधिवेशन नै प्रभावित बनाउन खोजेको पौडेल पक्षको आरोप छ ।

