कोरोना रोकथाम तथा नियन्त्रणमा स्वयंसेवी भुमिका निभाउंदै नेकपा माप्यदुधकोशी

सोलुखुम्बु , ३१ भाद्र। नेपाल कम्युनिस्ट पार्टी (नेकपा) माप्यदुधकोशी गाउँपालिका कमिटीले कोरोना भाइरस (covid-19) रोकथाम तथा नियन्त्रणका लागि स्वंयसेवकका रुपमा आफ्नो गतिविधिलाई निरन्तरता दिने भएको छ।
‘कोरोना रोकथाम ,नियन्त्रण तथा ब्यबस्थापन समिति’ नै गठन गरेर गाउँपालिकाले अगाडी सारेका योजनाहरुमा सहजीकरण गरिरहेको गाउँपालिका कमिटीले तय गरिएका मापदण्डहरुको पुर्ण पालना गर्न सम्बन्धित सबैमा आग्रह गरेको छ।

नेपाल कम्युनिस्ट पार्टी नेकपा माप्यदुधकोशीका नेता चन्द्र घिमिरेका अनुसार समितिले बाहिरी जिल्ला हुँदै गाउँपालिका प्रवेश गर्ने नागरिकहरुले अनिवार्य रूपमा पीसीआर रिपोर्ट नेगेटिभ भएको प्रमाण पेश गर्नुपर्ने मापदण्ड तय गरेको छ।३ दिन सम्मको पीसीआर रिपोर्टलाई मान्यता दिइने जानकारी दिंदै घिमिरेले नेगेटिभ रिपोर्ट भएकाहरूले पनि अनिवार्य १४ दिन होम क्वारेन्टाइनमा बस्नुपर्ने बताए ।मापदण्ड पूरा गरि गाउँपालिका प्रवेश गर्ने स्थानीय,सवारी चालक वा अन्य नागरिकले सेनिटाइजर र मास्क लगायत स्वास्थ्य सुरक्षा अपनाउनु पर्ने पनि समितिले जनाएको छ।
कुनै पनि शक्तिको आडमा मापदण्ड बिपरितका गतिविधि गरेको पाइएमा त्यसको नियन्त्रणका लागि पार्टी कमिटीको संगठनात्मक संरचनालाई परिचालन गर्ने निर्णय भएको नेकपा माप्यदुधकोशी गाउँपार्टी कमिटीले उल्लेख गरेको छ।

