एक व्यक्तिले ५० लाख रुपैयाँभन्दा बढी कर्जा लिन नपाउने



काठमाडौं- नेपाल राष्ट्र बैंकले प्रयोजन नखुलेको व्यक्ति कर्जामा थप कडाइ गरेको छ। चालु आर्थिक वर्षको मौद्रिक नीतिअनुसार ओभरड्राफ्ट, धितो कर्जा, सम्पत्ति कर्जा, व्यक्तिगत आवधिक कर्जा, शेयरको धितोमा प्रदान गरिएको कर्जा लगायत जुनसुकै शीर्षकका व्यक्तिगत कर्जामा प्रतिग्राहक ५० लाख रुपैयाँसम्म मात्र प्रवाह गर्न सक्ने व्यवस्था गरेको हो। यसअघि प्रयोजन नखुलेको अधिविकर्ष ‘ओभरड्राफ्ट’लगायत निश्चित शीर्षकका व्यक्तिगत कर्जा प्रवाह गर्दा प्रतिग्राहक ५० लाख रुपैयाँ मात्रै प्रवाह गर्न सक्ने व्यवस्था थियो। तर इजाजतपत्र प्राप्त संस्थाले आफ्नै मुद्धति निक्षेप, सुन चाँदी एवं नेपाल सरकार वा नेपाल राष्ट्र बैंकको ऋणपत्रको धितोमा कर्जा प्रदान गर्न र शतप्रतिशत नगद मार्जिनमा जमानत जारी गर्न यस व्यवस्थाले कुनै असर नगर्ने समेत उल्लेख गरेको छ। बैंक तथा वित्तीय संस्थाले २०७७ असार मसान्तसम्म प्रयोजन नखुलेका व्यक्तिगत कर्जामा तोकएको सीमा भन्दा बढी कर्जा प्रवाह गरेको भएमा २०७९ असार मसान्तभित्र क्रमिक रुपमा तोकिएको समयभित्र ल्याइसक्नु पर्नेछ। बैंक तथा वित्तीय संस्थारुले निश्चित प्रयोजन नखुलेका व्यक्तिगत कर्जाको विवरण प्रत्येक त्रैमास सकिएको १५ दिन भित्रमा नेपाल राष्ट्र बैंकमा पेस गर्नुपर्नेछ।

प्रतिक्रिया दिनुहोस्