भदौ १ देखि हवाई उडान सुरु हुने
काठमाडौं । झण्डै पाँच महिनापछि हवाई उडान सुरु हुने भएपछि पुरानै भाडादर कायम गरेर उडान गर्ने तयारी नागरिक उड्ययन प्राधिकरणले गरेको छ । लामो समयपछि खुल्न लागेको हवाई उडानमा अन्तर्राष्ट्रिय उडान दैनिक कति गर्ने भन्ने टुङ्गो लाग्न भने अझै सकेको छैन ।

नागरिक उड्ययन प्राधिकरणका प्रवक्ता राजकुमार क्षेत्रीले एक साताको आन्तरिक उडानमा के-के गर्ने भन्ने निर्णय गरेर पर्यटन मन्त्रालयल पठाएको बताए । उनका अनुसार यो विषय लगभग टुङ्गो लागिसकेको छ । सरकारले गत चैत ११ गतेदेखि लागू गरेको बन्दाबन्दी (लकडाउन) यही साउन ६ गते अन्त्य भइसकेको छ । सार्वजनिक सवारी, उद्योग कलकारखाना, व्यापार व्यवसाय खुलिसकेका छन् । कोरोनाले सबैभन्दा बढी थलिएको पर्यटन क्षेत्र भने क्रमशः खुला गर्दै जाने सरकारको नीति छ । सोही अनुरुप भदौ १ देखि उडान शुरु हुन लागेको हो ।
बिहान ६ बजेदेखि बेलुका ६ बजेसम्म उडानको समय निर्धारण गरिएको छ भने पहिलो हप्ता आन्तरिक टर्मिनल भवनमा प्रतिघण्टा ३ सय जना यात्रुलाई सेवा दिने तयारी गरिएको छ । यसैगरी हवाइ सेवा सञ्चालकहरुको आपसी छलफलबाट भाद्र महिनाको पहिलो हप्ता टर्मिनलको निर्धाररित दायराभित्र रही नागरिक उड्यन प्राधिकरणसँग सेड्युहल माग गर्नुपर्ने छ।
यस्तै काउन्टरबाट यात्रुलाई चेक जाँच गरिसकेपछि सम्बन्धित वायु सेवा कम्पनीले डिपाचर क्षेत्रबाट छिटो भन्दा छिटो उडान गर्न आफ्ना यात्रुलाई हवाइजहाज तर्फ प्रस्थान गराउनुपर्ने पनि भनिएको छ । यदि कुनै प्राविधिक कारण वा मौसमका कारण ढिलाइ भएमा बस जहाज वा ह्याङ्गरमा उपयुक्त व्यवस्थापन गर्नुपर्नेछ ।
यो व्यवस्था भाद्र महिनाको पहिलो हप्ताका लागि हो । प्राधिकरण, वायुसेवा सञ्चालक लगायतको छलफलबाट निस्केको उल्लिखित निष्कर्ष मन्त्रालयमा पुगेको छ । मन्त्रालयले स्वीकृति दिएपछि प्राधिकरणले हवाइ सेवा कम्पनीहरुलाई माथिको व्यवस्था अनुसार उडान गर्न सर्कुलर जारी गर्ने प्रवक्ता क्षेत्रीको भनाइ छ । उनले भने, ‘यी उल्लेखित विषय हेरफेर हुँदैन । मन्त्रालको स्वीकृतिको मात्र पर्खाइ हो ।’
यता अन्तर्राष्ट्रिय उडान कसरी गर्ने भन्ने विषयमा आइतबार पर्यटन मन्त्रालय, नागरिक उड्डय प्राधिकरण, परराष्ट्र मन्त्रालय, स्वास्थ्य मन्त्रालयविच छलफल भएपनि टुङ्गो लाग्न नसकेको क्षेत्रीले बताए । यस विषयमा फेरि बैठक बसेर निर्णय गर्ने बुझिएको छ ।
चैत ११ गतेदेखि लकडाउन भएपनि सरकारले चैत १३ गतेदेखि आन्तरिक उडानमा पनि रोक लगाएको थियो ।
कोरोना भाइरस (कोभिड–१९) को संक्रमण देखिएसँगै बन्द भएको आन्तरिक उडान भदौ १ गतेदेखि खुला भए पनि साविकको भन्दा ७५ प्रतिशत कम उडान गर्नेगरी नेपाल नागरिक उड्डयन प्राधिकरण तयारी गरिरहेको छ । क्यानका एक अधिकारीले ३३ प्रतिशत मात्र उडान गर्न दिने तयारी भएको बताए । यद्यपि, यसबारे आधिकारिक निर्णय आउँन बाँकी छ ।
यात्रुको सुरक्षा जोखिमलाई ध्यान दिँदै दैनिक ३० उडान गर्ने तयारी गरे पनि क्यानले केही उडानहरु थप्न सकिने विषयमा पनि छलफल गरिरहेको छ । केही एयरलाइन्सहरुले उडान संख्या थप्न सुझाव दिएका थिए ।
यता बायुसेवा सञ्चालकहरुले पनि यात्रु संख्या कम भएपनि पुरानै भाडादरमा उडान गर्ने तयारी गरेका छन् ।
केही एयलाइन्सहरुले पुरानै भाडादर कायम गरेर अग्रिम टिकट बुकिङ समेत खुलाइसकेका छन् । एयरलाइन्सहरुले स्वास्थ्य प्रोटोकल तयार गरेर स्वीकृति समेत लिइसकेका छन् । वायुसेवा सञ्चालकका कोषाध्यक्ष रुपेश जोशीले सबै एयरलाइन्सले आफ्नो तर्फबाट गर्ने काम पूरा गरेको बताए । सरकारले ३३ प्रतिशत मात्र उडान गर्न अनुमति दिएको उनको भनाइ छ ।
बजेटमार्फत हवाई इन्धनमा लगाउँदै आएको १० रुपैयाँ पूर्वधार कर घटाइएसँगै वायुसेवा सञ्चालक संघले लकडाउन खुल्नु अघिनै आन्तरिक एयरलाइन्सहरुको भाडा घटाएका थिए ।
सबैभन्दा बढी काठमाडौं–धनगढीका लागि १ हजार १ सय ५ रुपैयाँ र सबैभन्दा कम काठमाडौं–सिमराको रुटमा २ सय २५ रुपैयाँले भाडा समायोजना गरिएको थियो । घटाइएकै भाडादर अनुसार उडान हुनेछ ।

