नेकपा नेताहरु मिलनबिन्दु खोज्दै, सोमबारसम्मका लागि बैठक स्थगित
काठमाडौं,२० असार । पार्टीलाई एकढिक्का बनाएर लानु पर्ने दबाब बढ्दै गएपछि नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का नेताहरू यतिबेला मिलनबिन्दुको खोजीमा जुटेका छन।जारी स्थायी समिती बैठक मा प्रचण्ड पक्षीय नेताहरूले प्रधानमन्त्री समेत रहेका पार्टी अध्यक्ष केपी शर्मा ओलिले दुबै पदबाट राजीनामा दिनुपर्ने माग गरेपछि उत्कर्षमा पुगेको सो पार्टी भित्रको बिबाद ब्यबस्थापनका लागि नेताहरु अनौपचारिक बार्ताहरुमा ब्यस्त हुंदा शनिबारका लागि तय गरिएको स्थायी कमिटी बैठक पनि स्थगित भएको छ ।
प्रधानमन्त्री निवास बालुवाटारमा जारी रहेको नेकपाको पाँचौं बैठक यही असार २२ गते (आगामी सोमबार) सम्मका लागि स्थगन गरिएको नेकपाका प्रचार विभाग उपप्रमुख सूर्य थापाले जानकारी दिए ।
उनका अनुसार बैठक मङ्गलबार बिहान ११ बजे प्रधानमन्त्री निवास बालुवाटारमा बस्ने छ । पार्टी अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले पार्टीमा देखिएको समस्या समाधान गर्न थप छलफल गर्नु परेकाले बैठक स्थगन गरिएको प्रचार विभाग उपप्रमुख थापाले बताए ।
नेकपाको स्थायी कमिटी बैठक पार्टी एकता, सरकारको कामको समीक्षा, मिलेनियम च्यालेन्स कर्पोरेशन (एमसिसी) संविधान संशोधनलगायत विषयमा छलफल गर्नका लागि यही असार १० गतेदेखि जारी रहेको छ ।
बैठकमा ४५ स्थायी कमिटी सदस्य र पार्टीको निर्वाचन आयोग, अनुशासन आयोग र लेखा आयोगका अध्यक्ष ज्येष्ठ कम्युनिष्ट मञ्चका संयोजक र सल्लाहकार परिषद्का संयोजकसहित ५० जनाको सहभागी रहेको छ । बैठकमा अहिलेसम्म ३७ जनाले आ–आफ्नो धारणा राखिसकेका छन् ।