कविता
भो म पढ्दिन
-बिष्णु ढुंगेल
मेरो घरमा बत्ती छैन
रेडियोमा हाल्ने ब्याट्री छैन
एउटा भएको थोत्रे मोबाइलमा पैसा छैन ।
तिमी अनलाइन पढाइ भन्छौ ।
भर्चुअल सिकाइ भन्छौ ।
अझ जुम मिटिङ र भिडियो च्याटिङ भन्छौ ।
तिमीलाई के थाहा मेरो व्यथा,
घरमा आगो बाल्ने सलाई छैन,
बेलुका खाने रासन छैन ।
बजार पुग्न एक दिन लाग्छ ।
लकडाउनले सिमाना बन्द छ ।
अनि कसरी पढ्नु रु
भो म पढ्दिन ।
तिमिसँग पो बाउले कमाएको लुटको धन छ ।
शहरमा गगनचुम्बी महल छ ।
फरर् चल्ने इन्टरनेट छ ।
कोठैपिच्छे टेलिभिजन छ ।
जिउपिच्छेका ल्यापटप र आईफोन छन् ।
जतिबेला जे मन लाग्यो हेर्न मिल्छ ।
भाइबर र म्यासेन्जर गुटुटु चल्छ ।
पब्जी खेल्छौ, युटुब खोल्छौ ।
म यहाँ एकसरो लाउँछु ।
भेटे दुई छाक नत्र एक छाकमा रमाउँछु ।
मलाई पब्जी भन्दा गट्टा प्यारो छ,
इन्टरनेट भन्दा भोको पेट साह्रो छ ।
रेडियो सुन्न पल्लाघर जानुपर्छ
त्यो पनि ओछ्याउने चकटी आफ्नै लानुपर्छ ।
अनि कसरी पढ्नुरु
भो म पढ्दिन ।
किताब बोक्ने झोला छैन ।
लगाउन छुट्टै पोशाक छैन ।
पोहोरको छात्रवृत्ति पाएको छैन ।
परीक्षाको नतिजा आएको छैन ।
भर्ना हुन विद्यालय खुलेको छैन ।
दुनियाँ भाइरसले त्रसित छ ।
गाउँ भोकले ग्रसित छ ।
किताबको पन्नामा भाइरस देख्छु,
कलमले लेख्दा कोरोना लेख्छु ।
मन शान्त छैन, न ज्यान ठीक छ
डर र त्रासमा सास फेर्दैछु ।
मानव सभ्यताको अन्तेष्टी हेर्देछु ।
अनि कसरी पढ्नुरु
भो म पढ्दिन ।
नेचासल्यान-३, सोलुखुम्बु