सर्बसाधारणलाइ उपत्यका प्रवेश गर्न अब सहज,१४ दिन अनिबार्य होम क्वारेन्टाइनमा बस्नैपर्ने सीसीएमसीको सर्त



काठमाडौं, १५ असार । स्थानीय तह वा प्रहरीको सिफारिसमा अब सर्बसाधारणले काठमाडौं उपत्यकामा प्रवेश गर्न पाउने भएका छन।

सोमबार बसेको कोरोना नियन्त्रण तथा रोकथामका लागि गठित कोभिड–१९ क्राइसिस म्यानेजमेन्ट सेन्टर (सिसिएमसी) ले १४ दिन अनिवार्य होम क्वारेन्टाइनमा बस्नुपर्ने सर्तसहित सम्बन्धित स्थानीय तह वा प्रहरीको सिफारिसमा काठमाडौं उपत्यका भित्रिन दिने निर्णय गरेको हो ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको मापदण्डअनुसार स्थानीय तह, वडा कार्यालय र प्रहरीको सिफारिस लिएर आएमा होम क्वारेन्टाइनमा बस्ने प्रतिवद्धतासहित उपत्यका भित्रिन दिने निर्णय गरेको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका सचिव महेन्द्र गुरागाईंले स्वास्थ्य मन्त्रालयको मापदण्डअनुसार १४ दिन होम क्वारेन्टाइनमा बस्ने गरी स्थानीय तह र प्रहरीको सिफारिस लिएर आउन दिने निर्णय बैठकले गरेको जानकारी दिनुभयो । हवाई तथा स्थलमार्गबाट आउने सबैमा सो निर्णय लागु हुने गुरागाईंले जानकारी दिनुभयो ।

सिसिएमसीले क्वारेन्टाइनहरुमा स्वास्थ्य सामग्री वितरण गर्न मन्त्रालयको अनुमति पनि अनिवार्य गर्ने निर्णय गरेको छ । संक्रमणको जोखिमलाई मध्यनजर गर्दै यस्तो निर्णय गरिएको सचिव गुरागाईले जानकारी दिनुभयो । उहाँका अनुसार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट बाहिरिनेहरुका लागि स्वास्थ्य जाँचको व्यवस्था मिलाइएको छ ।

यस्तै, विमानस्थलका कर्मचारीहरुलाई स्वास्थ्य सुरक्षाका सामग्रीहरु प्रतिव्यक्ति दुई जोरका दरले वितरण गर्ने निर्णय पनि बैठकले गरेको छ ।बैठकले आमा र बच्चा नेपाली नागरिकताधारी र बुबा विदेशी पासपोर्ट भएकाहरुको भिसा सहजीकरणका लागि निर्णय गर्न मन्त्रिपरिषदलाई सिफारिस गर्ने निर्णय पनि गरेको छ ।

प्रतिक्रिया दिनुहोस्