कार्यसम्पादन राम्रो नगर्ने कर्मचारीलाई हटाउने मन्त्री भट्टराईको चेतावनी-



काठमाडौं,१५ साउन । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेशकुमार भट्टराईले आगामी आव २०७७–७८ को योजना कार्यक्रमलाई नतिजामुखी बनाउन मातहत निकायलाई निर्देशन दिएका छन् ।

एसएमटी (सिनियर मेनेजमेन्ट टिम) को बैठकलाई आज सम्बोधन गर्दै उनले आगामी आर्थिक वर्षको शुरुवातबाटै मन्त्रालयका काममा आफै सक्रिय ‘प्रोएक्टिभ’ भएर लाग्न आग्रह गरे ।
उनले राम्रो कार्यसम्पादन नगर्ने कर्मचारीलाई विनम्रतापूर्वक हटाइने पनि चेतावनी दिए ।

उनले भने, ‘अहिल्यै मैले पूर्व सूचना गरेको छु । साउन महिनाबाट हामी काममा ‘प्रोएक्टिभ’ भएर लाग्छौं । राम्रो काम नगर्ने कर्मचारीलाई हटाइन्छ । त्यो बेला मन्त्रीले बलपूर्वक हटायो नभन्नु होला ।’

आफूले प्रधामन्त्रीसँग, सचिवले आफूसँग कार्यसम्पादन सम्झौता गर्ने अभ्यास स्मरण गराउँदै उनले भने, ‘तपाईंहरुले पनि सचिवसँग कार्यसम्पादनको सम्झौता गर्नुपर्छ । उक्त सम्झौताअनुसार काम भए–नभएको हेरेर कसैमाथि पूर्वाग्रह नराखी पुरस्कृत र कार्वाही जे गर्नुपर्ने हो त्यो गरिन्छ ।’

हरेक एक वर्षमा कक्षा चढे जस्तै आफूहरुको पनि एउटा कक्षा चढ्ने बेला आएको उल्लेख गर्दै मन्त्री भट्टराईले मन्त्रालयले राम्रो अङ्कका साथ कक्षा उत्तीर्ण हुनैपर्ने बताए।

पर्यटन मन्त्रात्रालय मातहत राष्ट्रिय गौरवका आयोजनाका रुपमा रहेका पाँचवटा आयोजना छन् । भैरहवास्थित निर्माणाधीन गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल, पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल, बारास्थित निजगढ अन्तर्राष्ट्रिय विमानस्थल, पशुपति विकास कोष र लुम्बिनी विकास कोष रहेका छन् ।

कार्यक्रममा पर्यटन मन्त्रालयका सचिव केदारबहादुर अधिकारी, मन्त्रालयका महाशाखा प्रमुख तथा मातहत निकायका प्रमुखहरुको सहभागिता थियो।

प्रतिक्रिया दिनुहोस्