आफ्ना नागरिकलाई बिराटनगर लगेर अलपत्र नपारिदिन सरकारसंग गाउँपालिका अध्यक्ष राइको आग्रह
लावण फुयल
सोलुखुम्बु , ८ असार ।जिल्लाको थुलुङ दुधकोशी गाउँपालिकाका अध्यक्ष असिम राइले बिदेशबाट फर्कने आफ्ना नागरिकहरुलाइ बिराटनगर लगेर अलपत्र नपारिदिन संघीय र प्रदेश सरकारसमक्ष आग्रह गरेका छन्।
बिदेशबाट फर्किएका आफ्ना नागरिकहरुलाइ प्रदेश नं १ का लागि तय गरिएको होल्डिङ एरिया भक्तपुरमै छोडिदिंदा उद्दार गर्न सजिलो हुनेभन्दै अध्यक्ष राइले सो आग्रह गरेका हुन।
बारम्बार गरिएको अनुरोध र समन्वयलाई संघीय र प्रदेश सरकारले बेवास्ता गरेको गुनासो गर्दै अध्यक्ष राइले भनेका छन-‘हाम्रा आफ्ना नागरिकलाइ बिराटनगर लगेर अलपत्र नपारिदिनुस।हामीलाई भक्तपुरबाटै उद्दार गर्न सजिलो हुन्छ।’
‘बारम्बारको अनुरोध र समन्वयलाई वेवस्ता गरिएको हुनाले सम्बन्धित सरोकारवालाहरुलाई गम्भिर ध्यानाकर्षन गराउन चाहन्छौं’-अध्यक्ष राइले सामाजिक सन्जाल फेसबुकमा उल्लेख गरेका छन।