कविता
कामरेडको सवारी
-योगेश राल्फाली
बन्दा बन्दीले
तिरासीऔँ दिनसम्म
गुम्सिएको बूढो ज्यान
पिजडा फोडी उडेको
स्वतन्त्र पंक्षी झैं
स्वतन्त्रताको अनुभुती गर्दै
सडक किनारमा
थोत्रो रुमालको माक्स लाएर
मनमनै सेनिटाईजर लगाउँदै
दामको जोहो गर्न भनौं या
कामको खोजीमा
समस्याको भारीले
थिचिएको बूढो शरीर बोकेर
हिड्दै थिएँ म
ठाउँ ठाउँमा प्रहरी गस्ती
आजैबाट गाडीहरु
जोर बिजोर गरि गुड्ने दिन
मेरो न त जोर छ
न त बिजोर छ
छ त केवल यो बूढो शरीर
दुई बुढ्यौली यी गोडा
तिम्रो गोडा
जोर कि बिजोर ?
भनि, कसैले सोध्ला भन्ने डर बोक्दै
कता बा ?
कता बाजे ?
ठाउँ ठाउँमा सोधनी हुन्छ
प्रहरी भाइहरुको ।
अगाडि बढिरहें
एकपछि अर्को चोक हुँदै
एउटै उत्तर दिदै
काम खोज्न ।
कोरोनाबाट बचाईराखेको
बूढो ज्यान
बढो जतन साथ
पारी पुर्याउन
जब बाटो काट्न खोज्छु
ए बाजे ! बाजे !!
बाटो नकाट्नोसू भन्दै
तान्न आउँछ एक प्रहरी
छुन्छ भन्ने डरले
भाग्दै थिएँ म
एक्कासी,
हुँईकिंदै आयो
चिल्ला चिल्ला गाडीका लस्करहरु
बेगवानमा बतासिएर
गाडीको बेगले
मेरो बूढो शरीर
लरखरिदै ढल्यो
जेब्रा क्रसिङको छेवैमा
बलजफतले समालिंदै हेरें
टाउको उठाउँदै गाडीको नम्बर
मुश्किलले
अन्तिमको जोर अक्षर देखें ।
यहि बेला
मलाई उठाउँदै
भन्यो प्रहरी भाइले
ूबाजे १ धन्न बच्नु भो
अहिले सवारी छ ।
कसको सवारी रु सोधें मैले
मन्त्रीको सवारी, जवाफ दिन्छ उ
को मन्त्री ?
प्रतिउत्तरमा
मन्त्रालय र नाम बतायो उसले
पुनस् मैले भनें
आज त बिजोर दिन
किन गुड्छ यसरी रु
मन्त्रीको गाडी जोर नम्बर बोकेर
बेतमास बिजोर दिनमा पनि
नाजवाफ भई पर पर हट्यो
बिचरा प्रहरी ।
भरखरै ढली उठेको बूढो शरीर
थरथर काँप्दै
सडकपेटि छेउ गई
निकालेर हेरें गोजीबाट
पार्टी सदस्यताको पुरानो प्रमाण
जसको पछाडि
लेखेर राखेको थिएँ
मन्त्रालय बाँडफाँडका दिन
मन्त्री र मन्त्रालयको सबिस्तार ।
ठ्याक्कै मिल्यो
नाम र मन्त्रालय
अहो ! अचम्म
कामरेड ! पो रहेछ
त्यसपछि
सुनामी छाल झैं बेतोडले
औरियो मेरो मानस्पटलमा
पृथक दृश्यहरु
बिगतको यात्रा चारकोसे झाडी
र वर्तमानमा सवार चिल्ला गाडी
वाह, कामरेड !
कति परिवर्तन ?
समृद्ध नेपालमा ।

२०७७/०३/ ०१ काभ्रे