सोमबारदेखि सेयर बजार खुल्ने



 

काठमाडौं २९ जेठ । धितोपत्र बोर्ड असार १ गतेदेखि सेयर बजार खोल्ने तयारीमा जुटेको छ । विश्वभर फैलिएको कोरोना भाइरसको कारण सरकारले जेठ ३२ गतेसम्म गरेको लकडाउन खुकुलो बन्दै गएपछि धितोपत्र बोर्ड पनि बजार खोल्ने तर्फ जुटेको हो । तर कुन मोडलमा बजार खोल्ने भन्नेमा अझै पनि निर्णय हुन सकेको छैन । यसको लागि नेपाल स्टक एक्सचेन्ज (नेप्से), मर्चेन्ट बैंक, ब्रोकर एशोसिएसन र लगानीकर्तासँग छलफल गरेर बजार खोल्ने बोर्डका अध्यक्ष भिष्मराज ढुंगानाले बताए ।
ढुंगनाका अनुसार शनिबार वा आइतबार सबैसंग आवश्यक छलफल गरेर निष्कर्ष निकाल्ने बताएका छन । यसअघि बजार वैशाख ३० र ३१ गते दुई दिन खुलेको थियो । त्यो बेला बजार दैनिक २ घन्टा (११ देखि १ बजेसम्म) कारोबार भएको थियो । लकडाउनको बीचमा खुलेको बजारमा प्रारम्भिक कारोबार सत्रमा मूल्य प्रविष्टी गर्दा अघिल्लो दिनको अन्तिम मूल्यको १ प्रतिशतसम्म परिवर्तन हुन सक्ने र कारोबार आदेश प्रविष्टी गर्दा २ प्रतिशतसम्म परिवर्तन हुने व्यवस्था गरी समग्र दिनको ३ प्रतिशत भन्दा बढी परिवर्तन हुन नदिने व्यवस्था गर्न नेप्सेलाई बोर्डले निर्देशन दिएको थियो ।

प्रतिक्रिया दिनुहोस्