निर्बाचन आयोगमा जसपा दर्ता, बरियता बिबाद भने झन पेचिलो



काठमाडौं, २६ जेठ।तत्कालीन समाजवादी पार्टी नेपाल र राष्ट्रिय जनता पार्टी नेपाल एकीकृत भएर बनेको जनता समाजवादी पार्टी निर्वाचन आयोगमा दर्ता भएको छ।

जनता समाजवादी पार्टी आइतबार साँझ दर्ता नम्बर १३९२ मा दर्ता भएको हो। जनता पार्टीको केन्द्रीय अध्यक्षमा महन्थ ठाकुर र उपेन्द्र यादव रहेका छन्।

दल दर्ताका लागि बाबुराम भटराई, महन्थ ठाकुर, उपेन्द्र यादव, राजेन्द्र महतोलगायतका नेताहरु आइतबार साँझ आयोगको कार्यालय कान्तिपथ पुगेका थिए।

सरकारले दल विभाजनसम्बन्धी अध्यादेश ल्याएपछि ती दुई दलबीच वैशाख १० गते मध्यरातमा पार्टी एकताका लागि सहमति जुटेको थियो ।

निर्वाचन आयोगमा नयाँ दल दर्ता भएपनि सो दलमा बरियता बिबाद भने झन् पेचिलो बन्दै गएको छ। पहिलो नम्बरको बरियतामा रहने गरि संघीय परिषद अध्यक्ष डा भट्टराईलाइ बनाउने सहमतिसहित निर्बाचन आयोग पुगेका सो पार्टीका नेताहरूबीचको द्वन्द्वले एकताको निरन्तरतामा आशंका उब्जाएको कतिपयको टिप्पणी छ। आयोग पुग्नु अघिको सहमतिअनुसार केन्द्रीय समिति अध्यक्षमा महन्थ ठाकुर र उपेन्द्र यादवलाई बनाउने भन्ने थियो। वरिष्ठ नेता आशोक राई र राजेन्द्र महतोलाई बनाउने तयारी थियो।

तर यस्तो सहमति केही घण्टा पनि टिक्न सकेन। ठाकुरले वरीयतामा समस्या हुने भन्दै असन्तुष्टि जनाएपछि डा बाबुरामलाई संघीय परिषद् अध्यक्ष बनाउने सहमति केही प्रहरकै अन्तरालमा उल्टियो। नेता ठाकुर र डा भट्टराईबीच पद तथा वरीयता विवाद लम्बिएपछि भट्टराई स्वयम् वरिष्ठ नेतामा बस्न तयार भएका थिए।

ुठाकुर र भट्टराईको पद र वरीयतालाई लिएर निर्वाचन आयोगमा दर्ता गर्ने आइतबारको समय घर्किन लागिसकेको थियो। जति छलफल गरेपनि कुरा मिल्न सकेको थिएन। अन्तमा डा भट्टराईले ुवरीयतामा चौथो नै भएपनि निर्वाचन आयोगमा दर्ता गरौँु भनेपछि सहमति भयो,’ जसपा नेताहरूबीच सहमति निकाल्न खटिएका एक नेताले भने, ‘शीर्ष नेताहरूबीचको छलफलमा पार्टी दर्ता गरेपछि छलफल गरेर भट्टराईलाई संघीय परिषद अध्यक्षसँगै वरीयतासमेत हेरफेर गर्ने सहमति भएको छ।’ पार्टीमा भद्र सहमति भइसकेकाले भट्टराईको पद र वरीयता हेरफेर गर्न कुनै गाह्रो नभएको ती नेताको दाबी छ।

प्रतिक्रिया दिनुहोस्