करसम्बन्धि सरकारी सूचनाको अबज्ञा गर्न कांग्रेसको आव्हान



काठमाडौं , २१ जेठ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले जेठ २५ गतेभित्र कर तिर्न राजस्व विभागले जारी गरेको सूचनाको अवज्ञा गर्न आह्वान गरेको छ । कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले ट्वीटमार्फत कर बुझाउन जारी भएको निर्देशनको अवज्ञा गर्न आह्वान गरेका हुन् । शर्माले ट्वीटमा लेखेका छन्, ‘सांसद विकास कोष खारेज गर्न साहस नराख्ने, अनि ठप्प व्यवसायलाई कर ताकेता रु जेठ २५ भित्र कर तिर्न नसक्ने भद्र अवज्ञाको अर्को विकल्प छैन ।’

उनले सरकारले संकटका बेला राष्ट्रपति कार्यालयमा गलैंचा, मन्त्री निवासमा जिम खान किन चाहियो भन्दै प्रश्न गरेका छन् । ‘गलैंचा, जिमखाना र यो ताकेता । सोध्न चाहन्छु कसैको व्यक्तिगत सनकमा देश चल्दैन कि यहि हो कम्युनिष्ट समाजवादको आधारशिला रु’, उनले प्रश्न गरेका छन् ।

चैत ११ बाट सरकारको निर्णय अनुसार लक डाउन जारी छ । यता, आन्तरिक राजस्व विभागले मंगलबार एक्कासी सूचना प्रकाशित गरेर सबै खालका कर यही जेठ २५ गतेभित्र तिर्न निर्देशन दिएको थियो । यसको सर्वत्र रुपमा विरोध भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्