कविता
म र घ्याङलेख
-इन्दिरा वाईबा
महाभारत चुचुरोको त्यो घ्याङ्लेख
राजधानी सङ्ग जोडिएको
जिल्ला सङ्गै साईनो गासिएको
तर
पृथ्वीको पल्लो कुना भन्दा फरक नपर्ने
अनकन्टार त्यो भुभाग
जहाँ
इतिहासकै उत्पिडनमा परेको
मानव बस्तिहरु भेटिन्छन
जहाँका मानिसहरुलाई
थुप्रै शासकहरुको
शासन सत्ता बिरलै थाहा होलन
सायदै
नेपालकै इतिहासमा
तिनै भाई प्रधानमन्त्री हुने
पू्र्खाको भुमी सङ्ग
साईनो गासिएको त्यो घ्याङलेख
जहाँका मानिसलाई
युग बदलिएको आभाष छैन
गणतन्त्र आएको अनुभुत छैन
धर्म निरपेक्षको अर्थ थाहा नहोला
संघियताको अर्थ नहोला
पहिचानको बोध नहोला
युग बदलिएर
नयाँ शासकको
आगमन भएको भान छैन
उहि पुरानै
तरिकाले जिएको छ जिन्दगी
जहाँ
छुवाछूतको पराकाष्ठा जागैछन
गोठाला र भरियादाईको उस्तैछन् ब्यथा
साईला र साईलीहरुको
सपनाहरू धुजा धुजा छन्
च्याङ्बा र माईच्याङहरुको
अभिष्ट छिया छिया छन्
तर
केहि साम्भ्रान्त वर्गको
महल फेरिएर आलिसन बनेकाछन
शासक फेरिएर
नयाँ शासक बनेकाछन
वर्ग फेरिएर नयाँ वर्गको
उदय भएकाछन्
म र घ्याङलेख फेर्ने दिन आएनन्
घ्याङलेखका च्याङ्बा र मैच्याङ्हरु
फेरिएन्
साईलादाई र साईली भाउजुहरुको
दिनचर्या फेरिएनन्
गोठाला र भरियादाईहरुको
गन्तव्य बदलिएन
म र घ्याङ्लेखका
बस्तिहरुलाई
गणतन्त्रले छोएनन्
म र घ्याङ्लेखका मानिसहरुलाई
धर्म निरपेक्षले छोएनन्
म र घ्याङ्लेखका
उत्पीडित जातिलाई
संघियता र पहिचानले छोएनन्
दुनियाँ बदलिएर
गणतन्त्र,संघियता,समाबेशी समानुपातिक
पहिचान र धर्म निरपेक्षताको छालहरु
छछल्किरहेको नमिठो
स्वरहरु यत्रतत्र नठोकिएका हैनन्
तर
म र घ्याङ्लेखका मानिसहरुको
जिन्दगी बदलिएनन्
उस्तै उस्तै छन् अझै
म र घ्याङलेख