मुक्तक बहस
मुक्तक अत्यन्त चोटिलो लघु कविता हो जसलाई चार हरफको बन्धनभित्र बाँधिएको हुन्छ । यो शास्त्रीय पद्यको एउटा श्लोक हो ।असाध्यै खँदिलो गरि भाव अटाएर लेखिने भएकोले यसलाई गागरमा सागर अटाउने विधा पनि भनिन्छ । पहिलो, दोस्रो र चौथो हरफमा अनुप्रास राखिने यसमा तेस्रो हरफ स्वतन्त्र हुन्छ ।

अग्नि पुराणमा उल्लेख गरेको पाइएका कारण मुक्तक निकै पुरानो विधा मान्न सकिन्छ यद्यपि पुराना मुक्तक भने पाइएको छैन । मुक्तक विधा संस्कृतबाट नेपालीमा आएको मानिन्छ भने यसैसँग मिल्दोजुल्दो विधा रुबाई भने अरबी भाषाबाट आएको मानिन्छ । पहिले दुई देखि सात हरफसम्मका रचनालाई मुक्तक मानिन्थ्यो । रुबाईको आगमनसँगै मुक्तकलाई रुबाईयात ढाँचामा लेख्न थाल्दा चार हरफ निर्धारण भयो । अरबी अङ्ग्रेजी, हिन्दी हुँदै नेपाली भाषामा प्रवेश गरेको कारण तिनै रुबाईलाई अङ्ग्रेजीमा अनुबाद गर्ने फिजराल्डको नामबाट यसलाई फिजराल्ड शैली पनि भनिन्छ । यसो हुँदा अहिले मुक्तक र रुबाई लेख्ने शैली एउटै बनेको पाइन्छ ।
नेपाली भाषाको पहिलो मुक्तक शक्तिवल्लभ अर्ज्यालको ‘तनहुँ भकुन्डो’ हो । शक्तिवल्लभ पृथ्वीनारायण शाहका दरबारिया पुरोहित भएको तथ्यबाट हेर्दा यो मुक्तक आदिकवि भानुभक्त आचार्य जन्मनुभन्दा झण्डै ४०(४५ वर्ष अगाडि लेखिएको हुनसक्छ । संस्कृत ग्रन्थहरू छन्दमा लेखिएका र शक्तिवल्लभ अर्ज्यालले लेखेका मुक्तकहरू पनि छन्दमै भएका कारण तथा यो शास्त्रीय पद्यरचनाको लघुत्तम रूप भएकोले पहिले मुक्तकहरू छन्दमा लेखिन्थ्यो भन्न सकिन्छ ।
तनहुँ भकुन्डो
धायको छ लमजुंग मुकुन्डो
कास्कि बाँध सुनको छ षुकुन्डो
पीउठानी कन देउ सुकुन्डो
मारि लेउ तनहुँ त भकुन्डो ।
कुनै पनि साहित्यिक विधाले लेख्दै जाँदा विकास, विस्तार र परिस्कार पाउँदै जान्छ । लामो समयसम्म प्रयोग नगरे कुनै पनि वस्तु खिइँदै र खियापर्दै जानसक्छ । त्यसैगरि मुक्तक पनि लामो समयसम्म प्रयोगमा आएन । लामो समय प्रयोगमा नआएको मुक्तक धेरै पछि छन्द गुमाएर देखा पर्यो ।
शक्तिवल्कभ अर्ज्यालको समयभन्दा लगभग डेढसय वर्षपछि साहित्यिक फाँटमा आएका भीम दर्शन रोका, हरिभक्त कटुवाल र भूपी शेरचन जस्ता स्रष्टाले मुक्तक विधालाई अगाडि बढाएर निकै उचाईसम्म पुर्याए । त्यतिबेलासम्ममा मुक्तक विधाले छन्दलाई छोडिसकेको थियो । त्यसपछि आएका स्रष्टा रत्नशम्सेर थापा, ज्ञानुवाकर पौडेल तथा चेतन कार्कीहरू उषा शेरचन लगायतका स्रष्टाले यो विधालाई निरन्तरता दिँदै अहिलेको पुस्तालाई हस्तान्तरण गरेका छन् ।
तत्कालिन मुक्तकमा अनुप्रासको अनिवार्यता थिएन तर अहिलेको जस्तो अनुप्रास मिलाएर पनि लेख्ने प्रचलन भने थियो । नेपाल मुक्तक प्रतिष्ठानको गठन पश्चात वि। सं। २०७० माघमा भएको पोखरा सम्मेलनपछि भने मुक्तकमा अनुप्रास अनिवार्य जस्तै भएको छ ।
मुक्तक आफैँमा पूर्ण विधा हो । यो चार हरफमा टुङ्गिनुपर्छ । यसमा गजलको जस्तो अन्य शेर थप्ने कुरा बाँकी राख्नुहुँदैन । यसरी विषयवस्तुलाई पूर्ण रूपमा समेट्न सकेन भने मुक्तक राम्रो बन्दैन ।
अहिले मुक्तक लेख्ने स्रष्टाहरूको संख्या संख्यात्मक रूपमा निकै नै बढेको छ । रसिला र कसिला मुक्तकहरू पढ्न र वाचन सुन्न साह्रै रमाइला हुने भएकोले यसका पाठक र श्रोताहरू पनि बढेको हुनुपर्छ । तर यो विधाले अपेक्षाकृत रूपमा गुणात्मक वृद्धि भने अझै गर्नु जरुरी छ । अझ अहिले फेसनको रूपमा चलेको मुक्तकलाई रहस्यमय बनाउने होडबाजीले यसको पहिलो र दोस्रो हरफलाई अर्थ न बर्थको बनाउन थालेपछि मुक्तकको गुणात्मक ह्रास भएको देखेर मुक्तकको विकासका लागि समर्पित स्रष्टा चिन्तित हुन थालेका छन् । राम्रा मुक्तक लेख्ने सम्भावना बोकेका स्रष्टाहरू समेत ताली र वाह१ वाह १ को पछि लानु पनि राम्रो होइन ।
सामाजिक सञ्जालको सहज उपलब्धताले गर्दा अहिले कुनै पनि विधा सिक्न, छलफल गर्न र परिस्कार गर्न साह्रै सजिलो छ । तर यसले विकृति पनि बढाएको छ । राम्रो नेटवर्क बनाउन सक्नेले जस्तो लेखे पनि चर्चा पाउने प्रचलन बढेको छ । सिर्जना चोरीको सबैभन्दा ठुलो भार मुक्तकमाथि परेको छ । अरू कसैको दुई शेर गजल तानेर मुक्तक बनाउनेहरू पनि छन् ।सर्जकले भन्दा त्यस्ता मान्छेले बढी ताली पाउँछन् ।
साहित्य भनेको भाषाको उच्चतम् रूप हो । कुनै पनि विधा भाषा, व्याकरण, भाव, शिल्प सम्पूर्ण कुराले शुद्ध र कलात्मक हुनुपर्दछ । अहिलेको मुक्तकको अर्को समस्या भनेको भाषा र व्याकरणको अशुद्धता हो । आज प्रवेश गरेर भोलि नै प्रख्यात हुने होडमा रहेका मुक्तककारहरू इन्टरनेटमा सहजै पाइने शब्दकोष खोलेर आफूलाई शङ्का लागेका शब्दहरू हेर्न समेत भ्याउँदैनन् ।
रसिलो, स्वादिलो र चोटिलो विधा भएका कारण मुक्तकले साहित्यका धेरै पाठक र श्रोता पाउने कुरामा दुईमत छैन । तर मुक्तकले आफ्नो विकास र विस्तारका लागि कमजोरीहरूलाई हटाउँदै अघि बढ्नु आवाश्यक छ । मुक्तक आज भन्दा भोलि झन् सशक्त बन्दै जाओस् । हार्दिक शुभकामना ।
म एउटा मुक्तकको पाठक हुँ । लेख्ने थोरै प्रयास गरेको हुँ तर अभ्यास पुगेको छैन । यी विचारहरू मेरा व्यक्तिगत हुन् । सिकारु भएका कारण मेरो अध्ययन नपुगेको पनि हुनसक्छ । मैले अभ्यासका क्रममा लेखेका केही मुक्तकहरू यहाँ राखेको छु ।
के के भए मानव रुन्छ होला
कस्तो कुराले मन छुन्छ होला
छाती बिझाए किन झर्छ आँसु ?
आँखा भरी सागर हुन्छ होला
👉️ इन्द्रवज्रा छन्द
आगो म बन्न सक्छु पानी म बन्न सक्छु
लोभी असाध्य कहिले दानी म बन्न सक्छु
चाहन्छ जो ज(जस्तो त्यस्तै म हुन्छु हरदम
राखी रहे नयनमा नानी म बन्न सक्छु
👉️मुजारे मुसम्मन अखरब
कुनै जिन्दगीमा कतै घाम छैनन्
पढेका युवा छन् कुनै काम छैनन्
खुल्यो साउदीमा भनी रोजगारी
सहरमा सीता मात्र छिन् राम छैनन्
👉️ मुतकारिब मुसम्मन सालिम
अनन्त बाँच्छु कर्मले कहाँ निमेषको म हुँ
हिमालको पहाडको तथा मधेसको म हुँ
सहिष्णु बन्छु धर्ममा म जात भात मान्दिन
रुकुम इलाम दार्चुला समग्र देशको म हुँ
👉️ पञ्चचामर छन्द