कविता



दर्बिलो आँट

-योगेश राल्फाली

घरिघरि आईरहन्छ
छाईरहन्छ
हिजो
मोर्चामा
युद्धमा
लाम लागेका ती दिनहरु
जित्दा हाँसेनौं
हार्दा रोएनौं
र त अनवरत लडिरह्यौ
अनगिन्ती मोर्चाहरु
युद्धको नियम भित्र रहेर ।
विविध कासनमा
अलर्ट रहँदै
ढल्दा विचलित
जल्दा हतोसाइत
किन्चित भएनौं
संकटमा पनि
त्रास संत्रासमा पनि
अविछिन्न उभिरह्यौं
वर्ग युद्धमा
सिमाको दशगजा झैं
त्यसैले त आज
मनमा पीडाका पोकाहरु
शरिरमा गोलीका खोकाहरु बोकेर
बैशाखीको सहारामा
छट्पटिरहेछु
युद्धको ऐठनहरुमा ।
युद्धको मार्गचित्र
नमेटिने हुनुपर्थ्यो
हस्तरेखा झैं
कसैले तास्दैमा
तासिनु नहुने
तर अफसोच
बालुवाको घर झैं
सारा सपनाहरू
ग्वार्लम्म भत्किएपछि
बेथिति बढ्नु
बाटो मोडिनु
छि… कति नमिल्दो
परिदृश्यहरु
अनि असह्य भै
अचेल दौडिरहेछु
सशरिर गोलीका खोकाहरु
पीडाका पोकाहरु
साक्षी राखेर
कतिन्जेल टुलु टुलु हेरुं
यी अपाङ्गता शरिरले ।
भौतिक अपाङ्गतालाई
कमजोर सोच्नेहरुलाई
दर्विलो जवाफ दिन
दर्विलो आँटका साथ
उभिनु छ अब
एकगठ भएर
साराका सारा अपाङ्गताहरु
नयाँ बैचारिक अंग
नयाँ ढंगले प्रत्यारोपण गर्दै
नयाँ मोर्चा बन्दीमा
नयाँ यात्राका लागि
शरिरका खोकाहरु निकाल्दै
एउटा स्वर्णिम यात्रामा
जहाँ अब
कहिल्यै गद्दार नहोस
सपनाहरुमा
आस्थाहरुमा ।

प्रतिक्रिया दिनुहोस्