नेपाल-भारत सीमा विवाद- गल्दै भारत
एजेन्सी । भारतले नेपालसँगको सीमा विवादलाई रचनात्मक र सकारात्मक प्रयासद्वारा समाधान गर्न प्रस्ताव गरेको छ ।
लिपुलेक, कालापानी र लिम्पियाधुरालाई समेत समेटेर नेपालले नयाँ नक्सा जारी गरेपछि नक्सालाई एकतर्फी भन्दै अस्वीकार गर्ने जनाएको भारतले अहिले रचनात्मक ढंगले सीमा विवाद समाधान गर्न प्रस्ताव गरेको हो ।
भारतीय विदेश मन्त्रालयका प्रवक्ता अनुराग श्रीवास्तवले नियमित पत्रकार सम्मेलनमा छिमेकीहरूसँग पारिस्परिक संवेदनशीलता र विश्वासको वातावरण आवश्यक रहेको भन्दै सीमाको समस्या रचनात्मक प्रयासद्वारा समाधान गर्न प्रस्ताव गरेका हुन् ।
लिपुलेक, कालापानी र लिम्पियाधुरा क्षेत्रको विषयलाई लिएर नेपाल गम्भीर रूपमा प्रस्तुत भएको भन्दै त्यसलाई भारतले नजिकबाट नियालिरहेको उनले प्रतिक्रिया समेत दिएका छन् ।
भारतले एकपक्षीय रुपमा नेपाली भूमि लिपुलेक समेत प्रयोग गरी सडक बनाएपछि नेपालले जेठ ९ गते भारतले अतिक्रमण गरेका लिम्पियाधुरा, लिपुलेक र कालापानी समेटेर नयाँ नक्शा जारी गरेको थियो ।