रुकुमको चौरजहारी घटनाको दोषीलाई कारवाही गर्न माग गर्दै माइतीघरमा प्रदर्शन, प्रहरीद्धारा हस्ताक्षेप
काठमाडौं १३ जेठ । पश्चिम रुकुमको चौरजहारी घटनाको निष्पक्ष छानबिन गरी दोषीलाई कारवाही गर्न माग गर्दै माइतीघरमा प्रदर्शन भएको छ । घटनाको निष्पक्ष छानबिनको माग गर्दै आज दलित अधिकारकर्मी र विभिन्न क्षेत्रका व्यक्तिहरुले माइतीघरमा प्रदर्शन गरेका हुन् ।
प्रर्दशनमा नेपाली कांग्रेसका पूर्व सांसद राजिवविक्रम शाही र दलित आयोगका पूर्व सदस्य मञ्जित ताम्राकार लगायतको उपस्थिति रहेको थियो ।
अहिलेको २१औं सताब्दीमा पनि जातीय विभेदका नाममा हुने यस्ता अमानवीय घटनाको निष्पक्ष छानबिन गरी दोषीलाई कारवाही गर्नुपर्ने माग उनीहरुले गरेका छन् । दलित आयोगका पूर्व अध्यक्ष ताम्राकारले मृतकलाई शहिद घोषणा गरी परिवारलाई क्षतिपूर्ति दिलाउनुपर्ने र पीडकलाई कडा कारवाही गर्नुपर्ने बताए ।
पूर्व सांसद राजीव विक्रम शाहीले राज्यका हरेक निकायमा सम्पूर्ण जातजातिको समान सहभागिता हुनेगरी संविधानमा उल्लेख भएपनि अझै समुदायस्तरमा चेतनाको कमीका कारण यस्ता घटनाहरु हुने गरेको बताए ।
ग्रामिण क्षेत्रमा जातीय विभेद विरुद्धका अभियानहरु सरकारले सञ्चालन गर्नुपर्ने भन्दै घटनाको निष्पक्ष छानबिन गरी दोषिलाई कारवाही गर्न उनले माग गरे ।
शनिबार पश्चिम रुकुममा प्रेमिकासँग विवाह गर्न साथीसहित आएका जाजरकोट भेरी नगरपालिकाका नवराज विक सहित ३ जना युवाहरुको केटी पक्षको आक्रमणबाट जोगिन नदीमा हाम फाल्दा मृत्यु भएको छ । तीन जना बेपत्ता छन् भने १२ जना घाइते भएका छन् ।