कोरोना एड्स जस्तै कहिल्यै नहराउन पनि सक्छ -डब्लूएचओ
एजेन्सी ।विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) ले विश्वभर कोरोनाभाइरस कहिल्यै नहराउन पनि सक्ने वा यो अन्त्य नै नहुने चेतावनी दिएको छ । कोभिड १९ बारे विश्व डब्लूएचओले गर्दै आएको मिडिया ब्रिफिङमा यस्तो चेतावनी दिइएको हो ।
संगठनका आपतकालीन मुद्दाहरुका निर्देशक माइकल रयानले जेनेभामा एक भर्चुअल प्रेस कन्फ्रेन्समा भने, ‘कोरोना हामीबीच क्षेत्र विशेषको एक अन्य भाइरस बन्न सक्छ र यो पनि सम्भव छ कि यो कहिल्यै सकिँदैन ।’
उनले यसका लागि एचआइभीको उदाहरण दिए । यो भाइरस कहिल्यै नसकिएको भन्दै कोरोना पनि यस्तै हुनसक्ने उनको चेतावनी थियो ।
माइकल रयानका अनुसार भ्याक्सिनविना आम मानिसमा यसलाई लिएर इम्युनिटी हासिल गर्न वर्षौ लाग्न पनि सक्नेछ ।
पछिल्लो समय विश्वभर कोभिड १९ को भ्याक्सिन तयार गर्न निकै धेरै कामहरु भएका छन् । तर, अहिलेसम्म वैज्ञानिकहरुलाई यसमा सफलता मिलेको छैन । अहिले विश्वभर कम्तिमा पनि कोरोनाविरुद्धका १०० वटा भ्याक्सिनमा काम भइरहेका छन् । तर, विश्व के चिन्तामा छ भने यो भ्याक्सिन कहिल्यै नबन्न पनि सक्छ ।
अर्कोतिर कोरोना महामारी कायम नै रहँदा पनि विश्वभरका देशहरुले यसअघि संक्रमण रोक्न गरेको लकडाउनलाई निकै खुकुलो बनाइसकेका छन् । यसले झन् संक्रमणको रफ्तार बढ्न सक्ने डब्लूएचओले यसअघि नै बताइसकेको छ ।
डब्लूएचओले भनेको छ, ‘अहिले पनि सबै देश उच्चतम स्तरमा अलर्ट रहनु आवश्यक छ ।’