सपनाको चुम्बन
– योगेश राल्फाली
ग्यास सकिएको अभाव
पानीको दर्कन
चिसो चुल्होमा
नबलेको आगो
नभएको चामल बसाल्दै
फुटेको लोरीले
फु… फु…. फुक्दै
मेरै गिदी फुकिरहे झैं
बेस्सरी टाउको दुख्ने गरि फुकि रहें
बाराम्बार फुकि रहें
बढ्दै बढ्दै गएको समस्याहरु
जति फुकें पनि
हट्ला जस्तो छैन समस्या
जित फुक्दा पनि उडेन चिसो खरानी
बलेन नभएको दाउरा
फुकेको सासले हो वा
अभावको बासले हो
गर्लम्मै ढल्यो
मेरो अभावको ओदानु
अनि म
धिकार्न थालें
बिग्रँदो व्यवस्थालाई
उर्लंदो महामारीलाई
थाहा छैन
आज मर्छु कि भोली
थाहा छैन
रोगले मर्छु कि भोकले
सोच्दा सोच्दै निदाएछु
चिसो अगेनो छेउमै
र देखेछु सपना
यति बिघ्न समस्याको बिचमा पनि
यति बिघ्न बेसाहारा बिचमा पनि
यति बिघ्न बेथिति बिचमा पनि
धिकार्दै थिएँ म
ब्यबहारलाई
व्यवस्थालाई
अवस्थालाई
यस्तो हुन नदिन
लड्नु त लडेकै हो
तर विडम्बना
दुर्घटना भएपछि
छाड्नेले सुनौलो बिहानीको बाटो
बिराएर गएपछि
सुनौलो बिहानीको बाटो
बिग्रनुु स्वभाबिकै हो
विपनामा निदाउनु
सपनामा निदाउनु
सोच्दा सोच्दै निदाउनु
निदाउँदा निदाउँदै सोच्नु
यस्तै यस्तै सोच्दै निदाएको म
पुनस् सपनामै सोचिरहें
फेरि सोच्दा सोच्दै
मरे भोकले मरोस रोगले नमरोस भनी
नभएको साबुनले
मिचिमिचि हात धोएर
नभएको सेनिटाईजर लगाउँदै गर्दा
एक्कासी एउटी
अपरिचित सुन्दरी आइ
अनुमति बेगर छेउमै बसि
र वरवर सरी
म दुरी कायम गर्न खोच्छु
उनी मान्दै मानिन
अहँ, मान्दै मानिन
र आई झ्याप्पै समाती
अंगालो हाली
दिएर गई एक चुम्बन
बदलामा म कराएछु
बेस्सरी बरबराछु
नबलेको अगेनो छेवौमा
निन्द्रामा बरबराएको सुनी
छोरा आई ब्युँझाई दियो
ब्यूँझेर म
थर थराईरहेछु
अति डराईरहेछु
भन सरकार १
सपनाको चुम्बनले
काोबिड १९ सर्छ कि सर्दैन ?
कोरोना लाग्छ कि लाग्दैन ??
म भोकले मर्छु कि मर्दिन ???
म रोगले मर्छु कि मर्दिन ????