तेस्रो अध्यक्ष बन्न तयार भएनन् नेपाल, बालुवाटारमै पुगेर मागे प्रधानमन्त्रीको राजीनामा
काठमाडौ १९ बैशाख । नेपाल कम्युनिष्ट पार्टी (नेकपा )का वरिष्ठ नेता माधवकुमार नेपाल विहिबार साँझ प्रधानमन्त्रीको सरकारी निवास पुगेर प्रधानमन्त्रीको प्रस्तावमा छलफल गरेका छन् । छलफलका क्रममा प्रधानमन्त्रीको तेश्रो अध्यक्ष बन्ने प्रस्तावलाई अस्वीकार समेत गरेका छन् ।
नेता नेपाल र प्रधानमन्त्री बीच अहिलेको नेकपामा आएको विवाद बारे छलफल भएको थियो । छलफलका क्रममा प्रधानमन्त्री ओलीले तेस्रो अध्यक्ष बन्न राखेको प्रस्ताव बारे कुरा गर्दा नेता नेपालले अस्वीकार गर्दै भने, ूअहिलेको विवाद भनेको पदका कारण होईन त्यसैले म अहिले तेश्रो अध्यक्ष बनेर कुनै समाधान नहुने देख्छु । पद्धति र प्रणालीको समस्या देखिन्छ त्यसैले म अध्यक्ष बन्न तयार छैन ।ू प्रधानमन्त्रीबाट राजिनामा दिनु नै उपयुक्त देख्छु भन्दै नेता नेपालले ओलीलाई सुझाव समेत दिएको श्रोतको दाबी छ ।
बुधबारको सचिवालय बैठकमा प्रधानमन्त्री ओलीले कोरोनाको महामारीपछि नेता नेपाललाई तेश्रो अध्यक्ष बन्न प्रस्ताव राखेका थिए । बैठकमा राखेको प्रस्ताव बारे छलफल गर्न प्रधानमन्त्री र नेपाल आज भेटेका थिए । वामदेव गौतमलाई प्रधानमन्त्री बनाउने ओलीको प्रस्ताव बारे भने खुलेर कुनै छलफल नभएको श्रोतले उल्लेख गरेको छ । नेता नेपालले अहिलेको समस्याको समाधान गर्न प्रधानमन्त्रीले राजिनामा दिनु नै उपयुक्त भनेका छन् । नेपालको सुझावमा प्रधानमन्त्री मौन भएर सुनेका छन् ।
नेता नेपालले प्रधानमन्त्रीको प्रस्ताव अस्वीकार गरे संगै वामदेव गौतम भने अन्योलमा परेका छन् । नेता नेपालले प्रधानमन्त्रीको प्रस्ताव माने शनिवार बस्ने बैठकमा लिखितमा प्रस्तावको सम्झौता गर्ने नेता गौतमको तयारी रहेको नेकपा भित्र चर्चा छ ।