बलिउड अभिनेता ऋषि कपूर गम्भीर, अस्पताल भर्ना



काठमाडौं १८ बैशाख । बलिउड अभिनेता ऋषि कपूर गम्भीर बिरामी भएर अस्पतालमा भर्ना भएका छन् । क्यान्सर पीडित उनको अवस्था गम्भीर भएपछि बुधबार राति मुम्बई स्थित एचएन रिलायन्स फाउन्डेशन अस्पतालमा भर्ना गरिएको हो ।

६७ वर्षीय कपूरका भाइ रणधीर कपूरले न्यूज एजेन्सी पीटीआईलाई दिएको जानकारी अनुसार स्वास लिन कठिन भएपछि उनलाई अस्पतालमा भर्ना गरिएको हो । उनको हालत स्थीर छ ।

उनलाई सन् २०१८ मा क्यान्सर भएको थियो । उनी ११ महिनासम्म अमेरिकामा रहेर उपचार गराई गत वर्ष सेप्टेम्बरमा भारत फर्केका थिए । अमेरिकामा उनकी पत्नी एवं अभिनेत्री नीतू साथमा थिइन् । उनका छोरा एवं अभिनेता रणवीर कपूर भने जाने आउने गर्दथे ।

ऋषिलाई अहिले छातीमा इन्फेक्सन देखिएको छ । स्वास लिन समस्या रहेको छ । हल्का खोकी पनि रहेको छ । यी लक्षण कोरोना भाइरसका पनि भएकाले उनको कोभिड–१९ को पनि टेष्ट हुने बताइएको छ ।

दुई जना विशेषज्ञ चिकित्सकले उनको उपचार गरिरहेको बताइएको छ । गएको बिहीबारदेखि उनको स्वास्थ्य बिग्रिएको थियो । त्यतिबेला अस्पतालमा भर्ना गरिए पनि चार घण्टापछि डिस्चार्ज भएका थिए ।

बुधबार मात्रै क्यान्सरकै कारण बलिउडका अभिनेता इरफान खानको मृत्यु भएकाले बलिउड अहिले शोकमा छ ।

प्रतिक्रिया दिनुहोस्