नेकपा बिबाद: यस्तो छ ओलीलाइ बामदेबको सल्लाह !
काठमाडौं,१४ बैशाख ।नेकपा उपाध्यक्ष वामदेव गौतमले अध्यादेश खारेज गरिएपछि पार्टीभित्र अनेकौं समस्या उत्पन्न भएको भन्दै प्रधानमन्त्री एवम् पार्टी अध्यक्ष केपी ओलीलाई पार्टी कमिटीलाई बाइपास गरेर अगाडि नबढ्न सजग गराएका छन्।
उनले यसका लागि पार्टीका जुनकुनै कमिटीको बैठक तत्काल बोलाउन पनि प्रधानमन्त्रीसँग माग गरेका छन्। गौतमले शनिबार प्रधानमन्त्री ओलीलाई भेट गरी यस्तो सचेत गराएका हुन्।
गौतमले आइतबार जारी गरेको प्रेस नोटमा भनिएको छ, ‘मैले प्रधानमन्त्रीलाई सचिवालय, स्थायी कमिटी र आवश्यक परे केन्द्रीय कमिटीको बैठक बोलाउनुस्। सबभन्दा पहिले सचिवालय बैठक बोलाउन र सबै कमरेडहरुको सुझावलाई सम्मान गर्दै साझा प्रयत्नबाट समस्या समाधान गर्नोस् भनेर सुझाव दिएको हुँ ।
तर यस विषयलाई केही सञ्चारमाध्यमले मनमौजी समाचार प्रकाशन गरेको भन्दै गौतमले खण्डन गरेका छन्। गौतमले भनेका छन्, ‘समस्या समाधान पार्टी र पार्टी कमिटीलाई बाइपास गरेर गरेर होइन, प्रधानमन्त्रीले प्रत्यक्ष छलफल गरेर र सबै किसिमका विचारको सामना गरेर मात्र गर्न सकिन्छ।’
उनले प्रधानमन्त्री ओलीसँग पार्टीभित्र र पार्टी र सरकारका बीच, अनि अन्य पार्टी र सरकारका बीच उत्पन्न समस्या समाधान कसरी गर्ने भन्ने सम्बन्धमा छलफल भएको स्पष्ट पारेका छन्। गौतमले भनेका छन्, ‘प्रधानमन्त्रीले मेरो सल्लाह धैर्यपूर्वक सुन्नुभयो, थोरै बोल्नुभयो, म बिदा भएर आएँ । भएको यत्ति हो।’