नागरिकलाई अंध्यारोमा राख्न खोजिएको नेचासल्यान कांग्रेसको आरोप
डिल्ली शर्मा,
सोलुखुम्बु , १० बैशाख ।नेपाली कांग्रेस नेचासल्यान गाउँपालिका समितिले त्रिबेणी सोलुखोला लघु जल विद्युत आयोजनाका बिस्तारका लागि तोकिएको गन्तव्यसम्म पोल ढुवानी गरिदिन प्रशासनसमक्ष आग्रह गरेको छ । गत बैशाख ८ गते गरिएको पोल ढुवानीलाई गुण्डागर्दी शैलीमा गन्तव्यमा पुग्न नदिइ अन्यत्र लैजाने र गाडी तोडफोड गर्ने जस्ता बिकासबिरोधि काम भएको भन्दै सो पार्टीले एक बिज्ञप्ति प्रकाशित गरि सवारीसाधन तोडफोड गर्ने समुहलाई कानुनी कारबाही गर्न माग समेत गरेको छ।
सो पार्टीले कोरोना भाइरस संक्रमणको जोखिम कम भएपछि विद्युत बिस्तारका लागि आफैंले सहजीकरण गर्ने भन्दै लकडाउन अवधिभर ढुवानीका लागि अनुमती नदिन जिल्ला प्रशासन कार्यालयलाई लेखेको पत्रप्रति पनि आपत्ति जनाएको छ। विद्युतका नाममा करोडौं लगानी गरि परिणाम दिन नसकेको भन्दै पार्टी सभापति निरकुमार शर्मा कटेलद्वारा हस्ताक्षरित बिज्ञप्तिमा आफू कमिसनमा रमाइ नागरिकलाई अंध्यारोमा राख्न खोज्ने प्रवृत्तिप्रती नेपाली कांग्रेस नेचासल्यान खेद व्यक्त गर्दछ भनिएको छ।
सो पार्टीले १ सय ५० पोल उपलब्ध गराएको भन्दै पुर्बमन्त्री समेत रहेका कांग्रेस केन्द्रीय सदस्य बलबहादुर केसीलाइ सोही बिज्ञप्तिमार्फत धन्यवाद पनि दिएको छ। नेपाल सरकारका तर्फबाट उपलब्ध गराइएको राहत तथा औषधि बितरणमा पनि राजनीतिक अभिष्ट पूरा गर्ने व्यबहार प्रदर्शन गरिएको कांग्रेस नेचासल्यानको आरोप छ। राहत बितरण पुर्ण स्वस्थ र पारदर्शी हुनुपर्ने भन्दै बिज्ञप्तिमा औसधि जस्तो संबेदनसिल बिषय स्वास्थ्यकर्मी वा स्वास्थ्य स्वयंसेविकामार्फत बितरण गर्न माग गरिएको छ ।
देशका विभिन्न ठाउँमा रहेका पालिकाबासीहरुको गाउँ आउने अधिकार सुनिश्चित गर्दै गाउँ आएका सर्बसाधारणलाइ अन्यत्र ब्यबस्था गर्नुभन्दा होम क्वारेन्टाइनमा रहने गरि आवश्यक प्रबन्ध मिलाउन स्थानीय सरकारसंग आग्रह गरिएको छ।बिज्ञप्तिमा शिक्षक-विद्यार्थी,कर्मचारी र विद्यार्थी हरुलाइ आवश्यक स्वास्थ्य प्रशिक्षण दिई परिचालन गर्न माग समेत गरिएको छ।
बुधबार जारी सो विज्ञप्तिमा कोरोना भाइरस संक्रमणको रोकथाम तथा नियन्त्रणका लागि तीनै तहका सरकारले चालेका हरेक कदममा कांग्रेस हातमा हात मिलाएर हिंडिरहेको भन्दै अस्वभाविक र गैरजिम्मेवार गतिविधि नगर्न स्थानीय सरकारसंग आग्रह गरिएको छ।