प्रधानमन्त्री ओलीलाइ महामन्त्री शेरचनको प्रश्न : आफ्नै सरकारले के गर्दैछ भन्ने थाहा नपाए किन पदमा बस्नु ?



 

काठमाडौं २७ चैत्र । पूर्वमन्त्री तथा नेपाली कांग्रेस (विपी) का महामन्त्री सुशीलमान शेरचनले प्रधानमन्त्री केपी शर्मा ओलीलाई पद त्याग गरेर थोरै भएपनि बचेखुचेको ईज्जत जोगाउन सुझाव दिएका छन् ।

शेरचनले फेसबुकमा स्टाटस लेख्दै दिनैपिच्छे बदनाम हुँदै गएको भन्दै प्रधानमन्त्री ओलीलाई पदत्याग गरी स्वास्थ्यलाभ गर्न सल्लाह दिएका छन् । उनले चीनबाट ल्याइएको कोरोना भाइरस नियन्त्रण तथा रोकथामका लागि ल्याइएको सामग्रीमा भएको भ्रष्टाचारमा ओलीको संलग्नता रहेको दावी गरेका छन् । ओम्नी ग्रुपलाई दिएको टेण्डरबारे आफूलाई थाहा नभएको भनेर ओलीले दिएको अभिव्यक्तिबारे पनि शेरचनको आपत्ति छ । सरकारले के गर्छ थाहा नहुने प्रधानमन्त्रीले पदमा बसिरहनुको अर्थ नहुने शेरचनको सुझाव छ । आफूहरुको आग्रह अनुसार नै ओलीको सम्वोधन आएपनि सम्वोधनमा धेरै कुरा छुटेको र जनताले चाहेका धेरै कुराको सम्वोधन नभएको भन्दै शेरचनले जनताका पक्षमा राहतका कार्यक्रम नआएको टिप्पणी गरेका छन् ।

भारतका बैंक तथा वित्तीय संस्थाहरुले ॠणमा ७५ देखि ९० प्रतिशतसम्म छुट गरेको उदाहरण दिँदै उनले सम्वोधनमा जनताले यस्तो पनि अपेक्षा गरेका थिए भनेका छन् । सीमाबाट स्वदेश फर्कन चाहने नेपालीलाई यतै फर्काएर कमसेकम २ हप्तासम्म क्वाराइन्टाइनमा राख्नुपर्ने व्यवस्था गर्नुपर्ने उनको सुझाव छ । सीमामा अलपत्र नेपालीको विषयमा सरकार गम्भीर बन्नुपर्ने उनको तर्क छ । कोरोना भाइरस नियन्त्रणमा खटिने, डाक्टर, नर्स तथा एम्बुलेन्स चालकलाई स्वास्थ्य सामग्री उपलव्ध गराउन सरकारले नसकेको, स्वास्थ्य सामग्री खरिदमा सेनालाई जिम्मा दिएको, सामग्री खरिदमा संलग्न मन्त्रीलाई चोख्याउन खोजेको, ९ जनामा मात्र कोरोनाको आशंका देखियो भनेर प्रधानमन्त्रीले घमण्ड गरेको लगायतका विषयमा आपत्ति जनाइएको छ ।

शेरचनले लकडाउन उल्लंघन गर्नेलाई गोलीसमेत हान्ने भनेर सरकारका प्रतिनिधिले दिएको अन्तरवार्तमा पनि असन्तुष्टि जनाएका छन् । उनले सरकारले यस्तो गरे कोही पनि नेपाली चुप लागेर नबस्ने चेतावनीसमेत दिएका छन् ।

प्रतिक्रिया दिनुहोस्