कोरोना रोकथामको तयारी बुझ्दै सांसदद्वय राई र राजभण्डारी गाउँगाउँमा



झन्डै एक हप्ता यतादेखि जिल्ला दौडाहामा रहेका संघीय संसद प्रतिनिधिसभाका सदस्य हेम कुमार राई “सुरबीर” ले कोरोना भाइरस (covid-19) को स्वाब परीक्षणका लागि जिल्लामा बेग्लै ल्याब स्थापना का लागि आफुले पहल गरिरहेको बताएका छन।प्रदेश नं १ नेकपा संसदीय दलका प्रमुख सचेतक समेत रहेका जिल्लाको प्रदेश खका सांसद बुद्धि कुमार राजभण्डारीसंगै जिल्लाको माप्यदुधकोसी गाउँपालिका पुगेका राइले स्थानीय जनप्रतिनिधि र स्वास्थ्यकर्मीहरुसंगको भेटमा सो कुरा बताएको अनेरास्ववियुका नेता भुपेन्द्र कटेलले जानकारी दिएका छन।

कोरोना भाइरसको रोकथाम तथा नियन्त्रणका लागि स्थानीय तहहरुले गरेको तयारी र अपनाएको सतर्कता बारे जानकारी लिन झन्डै हप्ता दिन यतादेखी जिल्ला दौडाहामा रहेका सांसदद्वय राई र राज भण्डारीले माप्यदुधकोशी गाउंपालिकाद्वारा निर्मित आइस्योलेसन र क्वारेन्टाइन को वार्डको अनुगमन गरेका थिए।अनुगमनकाक्रममा गाउँपालिका अध्यक्ष बुद्धिकिरण राइले कोरोना भाइरसको जोखिम न्युनीकरणका लागि हालसम्म भएको तयारी र चालेका कदमहरुबारे सांसदद्वयलाइ अवगत गराएको जानकारी समेत कटेलले दिए। त्यस अवसरमा संघीय सांसद राइले जिल्लामा औषधि र स्वास्थ्यकर्मीहरुको सुरक्षा का लागि आवश्यक सामाग्रीको अभाव हुन नदिन आफू निरन्तर लागिरहने प्रतिबद्धता व्यक्त गरेका थिए।

प्रदेश १ नेकपाका प्रमुख सचेतक राजभण्डारीले ठूलो चुनौतीको रुपमा देखा परेको कोरोना भाइरस को संक्रमणबाट बच्नका लागि जनतालाइ सचेत र सतर्क बनाउनु आवश्यक रहेको बताउंदै प्रभावकारी भुमिका निर्बाह गर्न जनप्रतिनिधिलाई आग्रह गरेका थिए। महामारीले निम्त्याएको कठिन परिष्थितिले कतिपय जनता निकै समस्यामा रहेको भन्दै सांसद राजभण्डारीले त्यसतर्फ जनप्रतिनिधिहरु गम्भीर बन्नुपर्ने बताएका थिए। सांसदद्वयले बैशाख महिना भित्र सम्पन्न गरिसक्नुपर्ने समयसीमा तोकिएको दुधकोसीमा निर्माणाधीन ओर्लाङ्घाट पुलको निरीक्षण पनि गरेको बताइको छ।

बिश्वब्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरसको जोखिम कम गर्ने अभिप्रायले सरकारले घोषणा गरेको लकडाउनकै बीच सांसद राई र राजभण्डारी गत शनिबारबाट जिल्लाका स्थानीय तहको भ्रमणमा निस्किएका थिए। बिपत ब्यस्थापनका लागि स्थानीय तहले गरेको तयारीको अनुगमन र आवश्यक निर्देशनका लागि भएको यो दौडाहा जिल्लाका ८ वटा मध्ये ६ वटा स्थानीय तहमा सम्पन्न भैसकेको बताइएको छ। गत बिहिवारनेचा सल्यानबाट सुरुभएको अनुगमन थुलुङ दुधकोसी,सोताङ, महाकुलुङ र सोलु दुधकुण्ड नगरपालिकामा सम्पन्न भैसकेको छ। महाकुलुङ निरीक्षणका क्रममा संघीय सांसद राइ र राजभण्डारीले सोलुखुम्बु सेवा समाज दक्षिण कोरियाका तर्फबाट पहिलो चरणमा प्राप्त पीपीइ गाउंपालिकालाइ हस्तान्तरण समेत गरेका थिए।कोरोना रोकथाम तथा नियन्त्रणका लागि स्थानीय तहहरुले गरेको तयारी हालसम्म निर्बाह गरेको भुमिका प्रशंसायोग्य रहेको सांसद राइको प्रतिक्रिया छ।

 

प्रतिक्रिया दिनुहोस्