विश्वभर कोरोना संक्रमितको संख्या १२ लाख नाघ्यो, ६४ हजारबढीको मृत्यु !
काठमाडौँ, २३ चैत । विश्वभर कोभिड( १९ ९कोरोना भाइरस० को संक्रमण झन् तीव्र गतिमा बढिरहेको छ । शनिबार एकै दिन विश्वभर ८४ हजारभन्दा बढी नयाँ संक्रमित फेला परेका छन् । यससँगै कुल संक्रमितको संख्या १२ लाख नाघेको पुष्टि भएको छ ।
यो समाचार तयार पार्दासम्म विश्भरि १२ लाख १ हजार ४४३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । जसमा शनिबार एकै दिन मात्र विश्वभरि ८४ हजार ७८२ नयाँ संक्रमित फेला परेका छन् । यसमध्ये सर्वाधिक संक्रमितको संख्या अमेरिकामा रहेको छ ।
विश्वभर कोरोना भाइरसका कारण ज्यान गुमाउनेको संख्या ६४ हजार ६७५ पुगेको छ । शनिबार मात्रै विश्वभरि ५ हजार ५०१ जनाको ज्यान गएको छ ।
अमेरिकामा मात्रै कुल ३ लाख ११ हजार ३५७ जनामा संक्रमण पुष्टि भएको वल्र्डोमिटर्सले जनाएको छ । त्यहाँ शनिबार एकै दिन हालसम्मकै सर्वाधिक ३४ हजार १५६ जना नयाँ संक्रमित पाइएका छन् ।
उता स्पेनमा पनि इटलीको भन्दा धेरै संक्रमित पुष्टि भएको छ । त्यहाँ शनिबार ६ हजार ९६९ नयाँ संक्रमित फेला परेकासँगै कुल संक्रमितको संख्या १ लाख २६ हजार १६८ पुगेको छ । इटलीमा पनि शनिबार ४ हजार ८०५ जना नयाँ संक्रमित फेला परेका छन् भने कुल संक्रमित १ लाख २४ हजार ६३२ पुगेको छ ।
त्यसपछि सबैभन्दा बढी संक्रमित पुष्टि हुने देशमा जर्मनी रहेको छ । त्यहाँ ९६ हजार ९२ जनामा कोरोना भाइरस संक्रमण फैलिसकेको छ । त्यहाँ हालसम्म १ हजार ४४४ जनाले कोरोनाका कारण ज्यान गुमाएका छन् ।
कोरोनाका कारण सबैभन्दा बढी मृत्यु हुनेमा इटली रहेको छ । त्यहाँ हालसम्म १५ हजार ३६२ जनाले ज्यान गुमाएका छन् । त्यसपछि स्पेनमा ११ हजार ९४७ को ज्यान गएको छ । अमेरिकामा भने संक्रमित धेरै भए पनि ज्यान गुमाउनेको संख्या ८ हजार ४५२ रहेको छ ।
चीनको वुहान शहरबाट सुरू भएको कोभिड(१९ महामारी हाल विश्वका प्रायः सबै देशमा फैलिसकेको विश्व स्वास्थ्य संगठनले जनाएको छ । चीनमा भने लामो समययता संक्रमण र मृत्युदर अत्यन्त न्यून रहेको देखिन्छ ।
कोभिड( १९ को संक्रमण नेपालमा पनि दोस्रो चरणमा प्रवेश गरेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । हालसम्म नेपालमा कोरोना संक्रमितको संख्या ९ पुगिसकेको छ । पहिलोपटक १ जनामा स्थानीयस्तरमै संक्रमण पुष्टि भएको छ । संक्रमितमध्ये उपचारपछि एक जना निको भइसकेका छन् भने ८ जना उपचाररत छन् ।